जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार ११:०६

वर्तमान सरकार एनजिओ–आइएनजीओको सरकार, गैरसरकारी संस्थालाई आन्दोलनको स्टेकहोल्डर बनाउने प्रयत्न : शंकर पोखरेल


काठमाडौं, कात्तिक १३ । नेकपा एमालेका महासचिव शंकर पोखरेले जेनजीका नाममा भएको प्रदर्शनलाई प्रभोग गर्न राष्ट्र र लोकतन्त्र विरोधी शक्तिले खेलेका बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङले बिहीबार दाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले जेनजीले उठाएका मागमा नेपालका सबै राजनीतिक दल र नेपाली समाजको विमति नरहेको बताउनुभयो । तर भदौ २३ को आन्दोलनलाई उत्तेजित गराउने काम स्वार्थी तत्त्वहरूले गरेको उहाँले सुनाउनुभयो ।

भदौ २४ गते पनि जेनजीहरुले शोक सभा गर्ने भनेकामा सो दिन राष्ट्र विरोधी तत्त्वको घुसपैठबाट नेपालको केन्द्रीय प्रशासनिक भवन सिंहदरबार जलाउने र नेपालको न्याय प्रणालीलाई नै समाप्त गर्ने काम भएको पोखरेलले बताउनुभयो । जेनजीका नामका नव युवाहरूबाट यो काम हुनै नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘उनीहरूको माग राष्ट्रलाई कमजोर बनाउने थिएन’, पोखरेलले भन्नुभयो ।

आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै उहाँले प्रहरी र न्यायपालिका माथिको आक्रमण नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणाम स्वरूप भएको पोखरेलले टिप्पणी गर्नुभयो । ‘यो नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने कामको परिणाम हो भनेर स्वतः बुझ्नु पर्दछ’, उहाँले भन्नुभयो ।

वडा कार्यालय देखि प्रदेशका संरचनासम्म लुटपाट, तोडफोड, आगजनीका घटना संघीयतालाई समाप्त गर्ने योजना अनुसार भएको उहाँको दाबी छ । जनताको आवाजको प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयमा समेत आगलागी हुनुले व्यवस्था नै समाप्त पार्ने योजना भएको उहाँले दाबी गर्नुभयो । ‘राजनीतिक दल माथिको प्रहार भनेको लोकतन्त्र माथिको प्रहार भनेर बुझ्नु पर्दछ, यो सामान्य कुरा होइन, यस्ता प्रकृतिका आक्रमणलाई सामान्य आक्रोस भन्न सकिँदैन’, उहाँले भन्नुभयो ।

कर, मालपोत, नापी कार्यालयको आन्दोलन दबाउन कुनै भूमिका नहुने बताउँदै उहाँले ती कार्यालय माथिको आक्रमण भनेका राष्ट्रको सामर्थ्य माथिको आक्रमण भएको पोखरेलको भनाइ छ । समग्रमा भदौ २३ र २४ को घटना राष्ट्र कमजोर बनाउने षडयन्त्रमूलक घटना भएको पोखरेलले बताउनुभयो ।

महासचिव पोखरेलले वर्तमान सरकार एनजिओ र आइएनजिओको सरकार भएको उहाँले दाबी गर्नुभयो । सरकारले गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको उहाँले बताउनुभयो । ‘भदौ २३ र २४ को आन्दोलनको स्टेकहोल्डरको रूपमा एउटा गैरसरकारी संस्थालाई खडा गर्ने प्रयत्न नेपालको संविधान र कानुन विपरीतको प्रयत्न हो, हामी नेपाल भन्ने संस्थालाई स्टेकहोल्डर बनाएर उनीहरूको नाममा सरकार गठन गर्ने कोसिस भयो, त्यो हामी नेपाल आन्दोलनको स्टेकहोल्डर बन्न सक्दछ, गैरसरकारी संस्था राजनीतिक आन्दोलनको स्टेकहोल्डर हुनै सक्दैन, यो सरकार भनेको एनजिओ–आइएनजिओको सकार हो, यो कुनै कानुन सम्मत कुरा हो र ? राजनीतिक सम्मत कुरा हो र ?’

सरकार गठनका प्रक्रियामा जुन प्रवृत्ति देखिएको छ त्यसले संविधान र कानुनलाई खण्डित गर्ने काम गरेको उहाँले बताउनुभयो । राजनीतिको जिम्मा राजनीतिक दललाई दिनु पर्ने बताउँदै उहाँले त्यो कुनै पनि एनजिओ, आइएनजिओले गर्न नसक्ने र नहुने उहाँको धारणा छ । कहिलेकाहीँ नागरिक सरकार बन्न सक्ने भए पनि त्यो राजनीतिक दलको समर्थनमा बन्ने उहाँले बताउनुभयो ।

नेपालको प्रहरी १०/२० हजारको भिडलाई व्यवस्थापन गर्न नसक्ने प्रहरी नभएको उहाँले बताउनुभयो । नेपाल प्रहरी हजारौँको भिड व्यवस्थापन गर्न क्षमता राख्ने उहाँले बताउनुभयो । भदौ २३ गतेको घटनालाई हेर्दा नेपाल प्रहरीको विगतको अभ्याससँग कतै मेल नखाने बताउँदै उहाँले त्यसमा गम्भीर षडयन्त्र भएको दाबी गर्नुभयो । त्यसैले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन हुनु पर्ने पोखरेलले माग गर्नुभयो ।

अहिले बनेको छानबिन आयोगका अध्यक्षले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले उहाँबाट निष्पक्ष छानबिन नहुने पोखरेलले बताउनुभयो । त्यसैले गौरीबहादुर कार्कीले नैतिक हिसाबले राजीनामा दिनु पर्ने बताउँदै पोखरेलले सो घटनाको अनुसन्धान तटस्थ व्यक्तिबाट गराउनु पर्ने पोखरेलको माग छ ।

प्रतिनिधि सभा विघटन संविधानसम्मत छैन भन्ने कुरा विगतको सर्वोच्च अदालतको फैसलाले स्थापित गरिसकेको उहाँले बताउनुभयो । सर्वोच्च अदालतका फैसला कानुन सरह नै हुने भएकाले प्रतिनिधि सभा विघटन संविधान विपरीत भएको पोखरेलले दाबी गर्नुभयो ।

नेकपा एमाले चुनावबाट भाग्ने पार्टी नभएको बताउँदै उहाँले अहिले चुनावको वातावरण नबनेको बताउनुभयो । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको बताउँदै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताउनुभयो । यस्तो अवस्थामा चुनाव हुन नसक्ने उहाँको धारणा छ ।

अहिलेको सरकारले नागरिकको सुरक्षा दिन नसक्ने बताउँदै उहाँले अब नागरिकले आफ्नो सुरक्षा आफैँले गर्नु पर्ने स्थिति आएको बताउनुभयो । त्यसले टोल टोलमा सुरक्षा समिति बनाउनु पर्नेमा उहाँको जोड छ ।

गत भदौ २४ गतेको घटनामा सुरक्षा निकायले सरकारलाई सहयोग नगरेको उहाँले बताउनुभयो । क्षति कम गर्नको लागि एक्सनमा ननिक्लिएको स्पष्टीकरण नेपाली सेनाले दिएको भए पनि मानवीय क्षतिको हिसाबले भदौ २३ मा भन्दा २४ गते बढी क्षति भएको उहाँले सुनाउनुभयो । त्यसैले सो तर्कलाई मान्न सकिने अवस्था नरहेको पोखरेलले बताउनुभयो ।

भदौ २३ र २४ को घटनालाई युवाको चाहना र त्यहाँ भित्र घुसेर गरिएको अपराधलाई छुट्याएर हेर्नुपर्ने पोखरेलको धारणा छ । सो घटना कुनै राजनीतिक आन्दोलन वा विद्रोह नभई राजनीतिको आवरणमा गरिएको अपराध भएको पोखरेलले बताउनुभयो । ‘ यो राजनीतिक आवरणमा गरिएको राष्ट्र द्रोह हो, राजनीतिको आवरणमा गरिएको अपराध हो’, उहाँले भन्नुभयो ।

अहिले विभिन्न आवरणमा जेनजी देखाइएको बताउँदै उहाँले नव युवाको अनुहार देखाएर अपराधकर्म नगर्न चेतावनी दिनुभयो । जेनजीका नाममा एकथरि मानिसहरूलाई जे जे गरे पछि छुट दिइएको र सरकारका गतिविधिका विरुद्ध प्रदर्शन गर्न चाहने युवालाई भने गिरफ्तार गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यो घृणाको राजनीति नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।