काठमाडौ, कात्तिक १३ । जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्री बन्नु भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की कार्यभार सम्हालेको २ महिना नपुग्दै बिचरा बन्नु भएको छ ।
भदौ २३ र २४ गतेको जेनजीको नाममा भएको हिंसात्मक र विध्वंसात्मक आन्दोलन पछि त्यसैको जगमा उभिए तत्कालीन सरकार र राजनीतिक दलालाई सडकमा निस्किएर गाली गरेकै कारण प्रधानमन्त्री बन्नुभएकी कार्की तिनै जेनजीलाई खेलाउने पात्रहरूका खेलौना बन्न लागेपछि रक्षात्मक बन्नु भएको छ । उहाँलाई दुई महिना नपुग्दै प्रधानमन्त्री पद घाँडो भएको छ । सार्वजनिक कार्यक्रममा समेत प्रधानमन्त्री कार्की रिसाउन र झोक्किन लाग्नु भएको छ ।
जेनजी आन्दोलनलाई विध्वंसात्मक बनाउन उकासी सरकार गठनसम्म आफ्नो हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले आफैले गृह मन्त्री बनाएका आफ्ना सल्लाहकार ओमप्रकाश अर्यालले आफूले भने अनुसार काम नगरेपछि उहाँलाई हटाएर आफ्ना अर्का विश्वासपात्रलाई गृह मन्त्री बनाउन प्रधानमन्त्रीलाई भेटेरै दबाब दिइरहेको समाचार तथ्य सहित सतहमा आएपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति नै निकालेर त्यसको बचाउ गर्नुपर्ने स्थिति आएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयले विज्ञप्ति निकाली गृह मन्त्री फेर्न कसैको दबाब नआएको र कसैको दबाबमा गृह मन्त्री नफेर्ने भन्दै बिचरापन प्रस्तुत गरेको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले एक आज एक विज्ञप्ति जारी गरी विगत केही दिनदेखि गृह मन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रमपूर्ण भएको जनाउनुभएको छ । ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो, कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, भन्ने वाक्य सहितको विज्ञप्ति निकाल्न प्रधानमन्त्रीको सचिवालय बाध्य भएको छ ।
जेनजी आन्दोलनबाट व्यक्त जनादेश अनुरूप यो सरकार गठन भएको उल्लेख गर्दै विज्ञप्तिमा यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृह मन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सचिवालयले जनाएको छ । ‘यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।














प्रतिक्रिया दिनुहोस्