जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार १५:०१

माधव नेपाल नैतिकता नभएको नेता : झलनाथ खनाल 


काठमाडौं, कात्तिक १३। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सो पार्टीका अध्यक्ष माधव नेपाललाई नैतिकता नभएको नेता भन्नु भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै खनालले  भ्रष्टाचार मुद्दा लागेर सांसद पद निलम्बन हुँदा पनि पार्टी नेतृत्व नछाड्ने माधव नेपाल नैतीकहीन नेता भएको बताउनुभयो । ‘मुद्दा लागेपछि त्यस बेलै सांसदबाट निलम्बन हुनुभयो, अनि तपाईँ पार्टीमा चाहिँ किन पदमा बस्ने ?’

खनालले माओवादीसँग पार्टी एकतामा हौसिने होइन अध्यक्ष पदबाट राजीनामा दिएर नैतिकता देखाउन नेपाललाई आग्रह गर्नुभयो । ‘कम्युनिष्ट आन्दोलनको नेताले कस्तो मूल्य स्थापित गर्ने, त्यसको अगुवाइ तपाईँले गर्नुस्, तपाईँले नेतृत्व छाड्नुस्’, खनालले भन्नुभयो ।

नेकपा माओवादी केन्द्रसँग एकताको पक्षमा आफू नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । खनालले माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने बताउनुभयो ।

अहिले एकताभन्दा पनि पार्टीलाई बलियो र क्रान्तिकारी बनाउन केन्द्रित हुनुपर्नेमा खनालले जाेड दिनुभयाे । सही ढङ्गले अघि बढ्यौँ भने सानो पार्टी पनि ठूलो हुने उहाँकाे दाबी छ ।