जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार २०:४०

छानबिन आयोगका सदस्य नाटक देखाएर  गैरकानुनी रूपमा राज्य कोष दुरुपयोग गर्ने अपराधी : राजेन्द्रसिंह रावल 


काठमाडौं, कात्तिक १३ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री, एमाले पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलले जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका सदस्यलाई गैरकानुनी र राज्य कोषको रकम दुरुपयोग गर्ने अपराधी भएका बताउनुभएको छ ।

कञ्चनपुरमा जेनजी आन्दोलनको नाममा भएको क्षतिको अनुगमन गर्न पुग्नुभएका आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई उहाँले सार्वजनिक स्थानमा नै राज्य कोषको दुरुपयोग गर्ने अपराधी भएको बताउनुभयो । भीमदत्त नगरपालिकामा आयोजना गरिएको सर्वदलीय बैठकस्थलमा पुग्नु भएका रावलले भण्डारीलाई अपराधीहरूलाई लुकाउने अपराधी भएको बताउनुभयो ।

‘तपाईँ को हो ? पार्टी कार्यालय व्यक्तिका घर, राष्ट्रिय सम्पत्ति जनाउने, अपराधीहरूलाई कारबाही नगर्ने ?’  भन्दै रावलले प्रश्न गर्नुभयो ।

उहाँको प्रश्नमा भण्डारीले ‘मैले हो तपाईँको घर डढाएको ?’ भन्दै प्रतिप्रश्न गरेपछि रावल थप आक्रोशित हुनुभयो ।

‘तपाईँ हो, बढ्दा कुरा गर्ने ? मेरा बालबच्चाको के हालत देख्नु भएको थियो ? अहिले नाटक देखाउन आउने ?’ भन्दै उहाँले प्रश्न गर्नुभयो । जेनजी आन्दोलनको नाममा अराजक समूहले रावलको घरमा पनि आगो लगाएको थियो ।

‘मेरो पार्टी कार्यालयमा आगो लाग्दा तमासा देख्नु भएको थियो यहाँ ? अहिले राज्यको तर्फबाट बडो नाटक देखाउन आउने ? तपाईँहरू अपराधी हो, यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आउनुभएको तपाईँहरू, यो नगर्नुस्’, उहाँले भन्नुभयो ।

गरैरकानुनी मान्छेहरू आयोगको नाममा राज्यको कोष दुरुपयोग गर्न आएका उहाँले बताउनुभयो । ‘तपाई जनविरोधी मान्छेहरू हो,  जनताको घरमा आगो लगाउने, सकारी कार्यालयमा आगो लगाउने, अनि बढ्ता यहाँ गर्ने ?’, उहाँले सार्वजनिक रूपमा नै भण्डारीलाई हप्काउनुभयो ।

रावलको सो प्रतिक्रिया पछि सर्वदलीय बैठक नै बिथोलिएको थियो । नेकपा एमालेका जनप्रतिनिधिहरूले सो बैठक बहिष्कार गरेका थिए ।

कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी पनि बैठकमा अनुपस्थित हुनुहुन्थ्यो । कार्यक्रम सुरु नै नभई माहौल बिग्रिएपछि केही जनप्रतिनिधि र कर्मचारीहरूबिच छलफल गरेर भण्डारी उठ्नु भएको थियो ।