काठमाडौं, कात्तिक १४ । बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पैरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ ।
मंगलटार प्रहरी चौकीका अनुसार नेपालथोकमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखी नेपालथोक प्रहरीले हिजो साँझदेखि नै सवारीसाधन रोक्ने निर्णय गरेको थियाे । प्रहरीका अनुसार रोशी खोला किनारमा बनाइएका डाइभर्सनमा क्षति भएको छैन, तर केही स्थानमा माटो र ढुंगासहितका पैरो खसेका कारण सवारी सञ्चालनमा कठिनाइ आएको छ । निरन्तर भइरहेको वर्षाले पैरो पन्छाउने काम पनि प्रभावित बनेको प्रहरीले जनाएको छ ।
बिपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका- ६ को चौकिडाँडा, रोशी गाउँपालिका- ७ को कटुञ्जे, चारसयबेँसी, वडा नं ११ डालाबेँसी, रोशी गाउँपालिका-९ को बिरुवाडाँडा, बोक्सिकुना , नार्के लगायतका स्थानमा माथिबाट लेदो र ढुङ्गा खसेर दुवै तर्फ सडक अवरुद्ध भएको छ ।
स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
गत असोज १८ र १९ गते रोशी खोलामा आएको बाढीले सडकका धेरै भाग बगाउँदा बिपी राजमार्ग करिब एक हप्तासम्म अवरुद्ध भएको थियो । यसअघि गत वर्ष असोज १२ र १३ गतेको भीषण वर्षाबाट आएको बाढीले पनि सो राजमार्गमा ठूलो क्षति पुर्याएको थियो ।
काठमाडौंबाट पूर्वतर्फ जाने सबैभन्दा छोटो प्रमुख मार्गका रूपमा रहेकाे बिपी राजमार्ग अत्यन्त व्यस्त मानिन्छ । दैनिक सयौँ सवारीसाधन यस मार्ग हुँदै चल्ने भएकाले अवरोधका कारण यात्रुहरू लामो समयदेखि नेपालथोक क्षेत्रमा अलपत्र परेका छन् ।













प्रतिक्रिया दिनुहोस्