काठमाडौं, कात्तिक १४। नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति तय गर्न खोज्दा फेरि एकपटक मतभेद सतहमा आएको छ। पार्टीका संस्थापन इतर समूहले पुस १६ गतेदेखि नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापन पक्ष भने सो मितिमा असहमत छ।
इतर पक्षका नेता डा. शेखर कोइरालाले आफूनिकट पदाधिकारीहरूसँगको विस्तृत छलफलपछि यही पुस १६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका ल्याउन दबाब दिइरहनु भएको छ । उहाँले सो निष्कर्षबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराउनुभएको छ ।
पार्टी नेतृत्वबिच अहिले पनि मितिबारे अन्तिम सहमति जुट्न सकेको छैन। संस्थापन पक्षका नेताहरूले फागुन २१ को निर्वाचनअघि महाधिवेशन सम्भव नदेखिएको भन्दै आगामी वैशाखमा महाधिवेशन गर्ने पक्षमा अडान लिएका छन्।
मङ्सिरमा नियमित वा विशेष महाधिवेशनबारे सहमति नजुटेपछि महामन्त्री शर्माले युवा प्रवेश र पार्टी पुनर्गठनको ढोका खोल्ने उद्देश्यले पुस १६ देखि १९ सम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सार्नु भएको थियो । तर, कार्यतालिकामा नै असहमति भएपछि महामन्त्री गगन थापाले हिजोको बैठक बहिष्कार गर्नु भएको थियो। यसअघि कार्यवाहक सभापति खड्काले ‘पार्टीको अन्तिम निर्णय केन्द्रीय समितिको बहुमतबाट हुने’ स्पष्ट सङ्केत दिइसक्नु भएको छ ।
पार्टीको केन्द्रीय समिति बैठक आज पनि छ । बैठकमा महाधिवेशनको मिति, तयारी र संगठन पुनर्गठनका एजेन्डा मुख्य हुने जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्