जनता टाइम्स

१४ कार्तिक २०८२, शुक्रबार १६:३८

कार्यतालिकामा मतभेदपछि कांग्रेस केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित


काठमाडौं, कात्तिक १४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक कार्यतालिकामा मतभेद उत्पन्न भएपछि आइतबारसम्मका लागि स्थगित गरिएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित गरी अब आइतबार पुनः बस्नेछ ।

बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर संस्थापन इतर पक्षको निष्कर्षअनुसार पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सार्नु भएकाे थियाे । तर, संस्थापन पक्षबाट वैकल्पिक कार्यतालिका ल्याउने तयारी भएपछि विवाद समाधानका लागि बैठक सारिएको हाे । महाधिवेशनका दुईवटा कार्यतालिका आउने अवस्था बनेपछि विवाद चर्किन नदिन बैठक स्थगित गरिएको हो । अब शीर्ष तहमा थप छलफल हुनेछ ।

आज बिहानै महामन्त्रीद्वय थापा र शर्माले इतर पक्षका नेता डा. शेखर कोइरालासँग पनि छलफल गरेका थिए । डा. कोइरालाले आफूनिकट पदाधिकारीसँग परामर्श गरी कार्यतालिका अघि बढाउने तयारी गरिरहनुभएकाे थियाे । संस्थापन पक्षले फागुन २१ गते तोकिएको आमनिर्वाचनअघि महाधिवेशन सम्भव नभएको भन्दै महाधिवेशन वैशाखमा गर्ने पक्षमा अडान लिएको छ । कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले हिजो पनि पदाधिकारी बैठक बहिष्कार गर्नु भएकाे थियाे ।

कार्यवाहक सभापति खड्काले भने, ‘केन्द्रीय समितिले बहुमतका आधारमा निर्णय गर्नेछ,’ भन्ने अडान लिँदै बैठक बोलाउनु भएकाे थियाे । आज पनि महामन्त्री थापाले महाधिवेशन कार्यतालिका पेस गर्न नदिए बैठकमा सहभागी नहुने जानकारी खड्कालाई गराउनु भएकाे थयाे।

यसअघि असोज २८ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक १ गतेसम्म चलेर स्थगित भएको थियो । त्यसपछि पुनः कात्तिक १३ गते सानेपास्थित पार्टी कार्यालयमा बैठक बसेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले असोज २८ गते बैठक उद्घाटन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे छ ।

बैठकमा ‘जेनजी आन्दोलन’ र पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको महाधिवेशनको तयारी, प्रतिनिधिसभा विघटन र सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचन, मुलुकको शान्ति–सुरक्षा र सुशासन, प्राकृतिक विपद् तथा पुनर्निर्माण, कार्यसम्पादन समितिको निर्णय र अनुशासनसम्बन्धी विषयमा विस्तृत छलफल जारी रहेको पार्टीले जनाएको छ ।