जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १७:०३

प्रधानमन्त्री ओली भियतनाममा, यस्तो छ कार्यक्रम


हनोई, बैशाख २६

प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र समाजवादी गणतन्त्र भियतनामको पाँच दिने औपचारिक भ्रमणको सिलसिलामा आज भियतनामको राजधानी हनोइ आइपुग्नु भएको छ ।

नेपाल बायु सेवा निगमको बिमानबाट हनोइ आइपुग्दा प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले हार्दिक स्वागत गर्नुभयो । भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजदेखि भियतनामको औपचारिक भ्रमणका लागि हनोइ आइपुग्नुभएको हो । उहाँ आगामी वैशाख ३० गते भियतनामबाट कम्बोडिया प्रस्थान गर्नुहुनेछ ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद् अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला, सांसद्, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका उच्चपदस्थ कर्मचारी, स्थानीय तहका पदाधिकारी, निजी क्षेत्रका उद्योगी व्यवसायी एवं सञ्चारकर्मी सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री ओली आज बिहान सवा ११ बजे अन्तराष्ट्रिय बिमानस्थलबाट भियतनामतर्फ लाग्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीगण र उच्च कर्मचारीले बिदाइ गर्नुभएको थियो ।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । यस्तै नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौतासमेत हुने अपेक्षासमेत गरिएको छ ।

प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर जेठ ३० गते कम्बोडिया जानुहुनेछ । त्यहाँ उहाँले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने तय भएको छ । भियतनामको भ्रमणमा जस्तै कम्बोडियामा रहँदा पनि प्रधानमन्त्री ओलीले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कनु हुनेछ ।