जनता टाइम्स

१४ कार्तिक २०८२, शुक्रबार २१:३२

जेनजीका कति समूह छन् भन्ने  थाहा छैन, ओली-प्रचण्ड र देउवालाई भेट्न मन छैन : प्रधानमन्त्री कार्की


काठमाडौं, कात्तिक १४। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकार जेनजी आन्दोलन र राजनीतिक दलबीचको मध्यस्थकर्ताको भूमिकामा रहेको बताउनुभएको छ । उहाँका अनुसार दुवै पक्षलाई भड्किन नदिन र संवादमार्फत सहमतिको वातावरण बनाउन सरकार प्रयत्नशील छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट सम्पादकहरु बोलाएर गर्नुभएको छलफलमा प्रधानमन्त्री कार्कीले छलफलका जेनजीका समूहहरू धेरै र विभाजित भएको बताउनुभयो । ‘जेनजीका कति समूह छन् भन्ने पनि हामीलाई ठ्याक्कै थाहा छैन,’ उहाँले भन्नुभयो, ‘२० देखि २५ समूहसँग सरकार संवादमा छ ।’

प्रधानमन्त्रीका अनुसार जेनजी आन्दोलनका प्रारम्भिक उद्देश्यहरू सुशासन, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रता जस्ता विषयमा केन्द्रित भए पनि पछिल्ला दिनमा विभिन्न समूहहरूले फरक राजनीतिक मागहरू अघि सारेका कारण जटिलता बढेको छ । ‘एउटा समूहले अर्को समूहलाई स्वीकार नगर्ने अवस्था छ र मागहरू पनि बिस्तारै बढ्दै गएका छन्,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कार्कीले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग अहिले सम्म संवाद नभएको बताउँदै ती शीर्ष नेताहरूले चुनावअघि नै दलको नेतृत्वबाट हटेर नयाँ पुस्तालाई अवसर दिनुपर्ने सुझाव दिनुभयो । उहाँका अनुसार ती नेतासँग भेट्न आफूलाई मन नभएको तर उनीहरूले भेट्न चाहे स्वागत गर्ने बताउनुभयो । ‘मलाई उनीहरूलाई भेट्न मन छैन, तर चाहेर आए भने भेट्छु,’ उहाँले भन्नुभयो, ‘तर अहिले जेनजीहरूकै अङ्कुश छ, उनीहरू भेट्न पनि रोक्छन् ।’

प्रधानमन्त्रीका अनुसार जेनजीका केही समूहहरूले अन्तरिम संविधान, प्रत्यक्ष निर्वाचित कार्यकारी, अन्तरिम सरकार र संविधान खारेजीजस्ता माग अघि सारेका छन् ।

छलफलका क्रममा उहाँले काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग बारम्बार संवाद भएको खुलासा गर्नुभयो । ‘बालेन मलाई दिदी भन्छ, म उसलाई छोरा भन्छु, तर उसले मेरो कुरा भन्दा आफ्नै कुरा बढी गर्छ, त्यसैले कहिलेकाहीँ गुनासो पनि हुन्छ ।’

प्रधानमन्त्री कार्कीले यो आन्दोलन केवल असन्तुष्टि नभइ परिवर्तनको चेत भएकाे बताउनुभयो । दलहरूभित्र नेतृत्व परिवर्तनको समय आएको छ भन्ने सन्देश सबैले बुझ्न जरुरी रहेकाे उहाँले बताउनुभयो ।