काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान ११ बजेदेखि अध्यक्ष केपी शर्मा ओलीको निवास, गुण्डुमा बस्दै छ । आसन्न महाधिवेशनको तयारी र जनपरिचालन कार्यक्रम बैठकको मूल एजेण्डा रहेका छन् ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठक आसन्न पोखरा महाधिवेशनमा केन्द्रित हुनेछ । महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटी, व्यवस्थापन र निर्वाचन तालिकाबारे आजकाे बैठकले निर्णय लिने छ । महाधिवेशनको क्यालेन्डरसहित प्रतिनिधिको रेसियो, प्रतिनिधि छनोटको मिति, शुल्कजस्ता विषय आज टुङ्गो लाग्ने छ । हाल नेकपा (एमाले) मा ६ लाख ६३ हजार सदस्य छन् ।
महाधिवेशनका प्रतिनिधिहरू भूगोल, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय र प्रवासबाट चयन हुनेछन् । भूगोलका हकमा संघीय निर्वाचन क्षेत्रलाई नै कायम गर्ने तयारी गरिएको छ । यस पटकको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि चयन हुने प्रारम्भिक अनुमान गरिएको छ ।
महाधिवेशन तयारीसँगै सचिवालय बैठकले जनपरिचालनका एजेन्डामाथि पनि विस्तृत छलफल गर्नेछ । संसद् पुनर्स्थापनाको मागसहितको राजनीतिक अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बैठकमा विमर्श हुने बताइएको छ ।
एमालेले अहिलेको सरकार शान्तिपूर्ण र निष्पक्ष रूपमा चुनाव गराउन असमर्थ रहेको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जोड दिँदै आएको छ । पार्टीले यो मागलाई जनस्तरमा सशक्त रूपमा उठाउनका लागि देशव्यापी जनपरिचालन सुरु गर्ने तयारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्