काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास, गुण्डुमा सुरु भएको छ। आसन्न महाधिवेशनको तयारी र देशव्यापी जनपरिचालन कार्यक्रम बैठकको मुख्य एजेण्डा रहेका छन् ।
आजको बैठक विशेषगरी पोखरामा हुने महाधिवेशनमा केन्द्रित हुनेछ। महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि छनोटको मोडालिटी, व्यवस्थापन र निर्वाचन तालिकासम्बन्धी विषयमा आजको बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ। महाधिवेशनका लागि प्रतिनिधि चयनदेखि शुल्क र तालिकासम्मका विषय आज नै टुंग्याउने तयारी गरिएको छ।
हाल नेकपा (एमाले) का देशभर ६ लाख ६३ हजार सदस्य रहेको पार्टीले जनाएको छ। ती सदस्यहरूमध्ये भूगोल, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय र प्रवास क्षेत्रका प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्। भूगोलका हकमा संघीय निर्वाचन क्षेत्रलाई नै आधार मानेर प्रतिनिधि छनोट गर्ने तयारी भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार, यस पटकको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि चयन हुनेछन्।

बैठकमा महाधिवेशन तयारीसँगै जनपरिचालन कार्यक्रमको खाका तय गर्ने विषयमा पनि विस्तृत छलफल भइरहेको छ । एमालेले हालको सरकारलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन गराउन असमर्थ रहेको आरोप लगाउँदै प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई देशव्यापी रूपमा उठाइरहेको छ।
सचिवालय बैठकले संसद् पुनर्स्थापनासम्बन्धी अभियानलाई जनस्तरमा प्रभावकारी बनाउन आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ। पार्टीले यो मागलाई सशक्त रूपमा अघि बढाउनका लागि देशभर जनसंपर्क र परिचालन कार्यक्रम विस्तार गर्ने तयारी गरेको जनाएको छ।

महाधिवेशनलाई ऐतिहासिक रूप दिन र पार्टीलाई संगठनात्मक तथा वैचारिक रूपमा सुदृढ बनाउन सचिवालयले आजको बैठकमा निर्णायक योजना पारित गर्ने सम्भावना रहेको छ।













प्रतिक्रिया दिनुहोस्