जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार ०९:३०

मौसमले साथ दिए बिपी राजमार्ग आजै खुल्ने


काठमाडौं, कात्तिक १६ । लगातारको वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गमा अहिले पहिरो सोर्ने काम तीव्र रूपमा भइरहेको छ । काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म विभिन्न स्थानमा पहिरो र लेदोले सडक अवरुद्ध भएपछि शनिबारदेखि नै सफाइ कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो बेलुका वर्षा रोकिएसँगै मेसिनमार्फत पहिरो पन्छाउने कार्य प्रारम्भ गरिएको हो । आज बिहानदेखि मौसम खुल्न थालेपछि सडक सफाइलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

हाल काभ्रेको रोशी गाउँपालिका–५ स्थित चारसय बेँसीमा नाङ्गशाल रोडा ढुङ्गा उद्योग नजिकैको सुख्खा पहिराले राजमार्ग पूर्णरूपमा रोकिएको छ । त्यहाँ अहिले एक्साभेटर र टिपर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ । त्यस्तै, पिप्ले माथिल्लो भागमा पनि सडकमा थुप्रिएको माटो र ढुङ्गा हटाउने कार्य सुरु गरिएको डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजन काभ्रेका अनुसार, मौसमले साथ दिए आज दिउँसोसम्म राजमार्ग खुल्न सक्ने अनुमान गरिएको छ । तर, विभिन्न स्थानमा जमिन भिजेका कारण पुनः पहिरो खस्ने जोखिम कायमै रहेको जनाइएको छ ।

वर्षाको कारण बिपी राजमार्गका धेरै भागमा साना–ठूला पहिरा खसेका छन् । विशेष गरी ढुङ्गा र रोडा उद्योगहरू सञ्चालन हुने क्षेत्र नजिकका सडक खण्डहरूमा बढी क्षति पुगेको देखिएको छ । स्थानीयवासीको अनुसार, नाङ्गशाल रोडा ढुङ्गा उद्योग र वरपरका क्रसर सञ्चालनले पहिरोको जोखिम अझ बढाएको छ ।

त्यस्तै, रोशी, चौकीडाँडा, सुकुटे, पिप्ले र नेपालथोकका विभिन्न मोड र भिरालो क्षेत्रमा सडक बिग्रिएको छ । जोखिमयुक्त भागमा अस्थायी सुरक्षात्मक व्यवस्था मिलाउने काम भइरहेको छ।

बिपी राजमार्ग काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास हुँदै तराई जोड्ने प्रमुख मार्गहरूमध्ये एक हो । यो मार्ग अवरुद्ध हुँदा काठमाडौँ–जनकपुर–बर्दिबास–इटहरीतर्फको सवारी सञ्चालनमा पनि असर पर्छ । त्यस्तै रामेछाप, ओखलढुङ्गा, सोलुदेखि पूर्वको भाेजपुरसम्म जाने यातायात साधन यही मार्ग भएर चल्ने गर्दछन् ।

स्थानीय बासिन्दाहरूले राजमार्ग वरपरका पहाडमा वन विनाश र उद्योग सञ्चालनले माटो कमजोर बनेको भन्दै दीर्घकालीन समाधानका लागि भू–सर्वेक्षण र व्यवस्थापन योजना बनाउन  माग गरेका छन् । मापदण्ड विपरीत सञ्चालन भएका ढुङ्गा खानी र क्रसर उद्योग बन्द गर्न उनीहरूको माग छ ।