काठमाडौं, कात्तिक १६। आज दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनी नसाको सुरमा हिजो सामाजिक सञ्जालबाट घोषणा गरेका अभियन्ता भनिने निकोलस भुसाल बेपत्ता भएका छन् ।
लागूऔषध सेवन गरी कार्यक्रमको घोषणा गरेको र त्यसले मुठभेड निम्त्याउने खतरा रहेका कारण उनलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भएको भए पनि उनलाई फेला पार्न सकेको छैन । प्रहरीले भुसालको खोजी गरिरहेको छ । उनी न घर–परिवारको सम्पर्कमा छन्, न त प्रहरीले नै फेला पारेको छ ।
उनी बस्ने डेरामा प्रहरी पुग्दा ताला लगाएर उनी भागेका छन् । उनले मोबाइल पनि अफ गरेका छन् ।
उनले आइतबार अपराह्न २ बजे सरकारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्ने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृह मन्त्री रमेश लेखकको निवास घेरेर उहाँहरूलाई समात्ने धम्की दिएका थिए । सो धम्की आए लगत्तै नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आज दिनभरिमा प्रहरीले उनलाई पक्राउ नगरे माइतीघरबाट राष्ट्रिय युवा संघले घिसार्ने चेतावनी दिनुभएको थियो ।
यसअघि गत असोज २३ गते माइतीघर मण्डलामै प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । स्वास्थ्य जाँच गर्दा उनले गाँजा सेवन गरेको पुष्टि भएको थियो । उनलाई सुधार गृहमा लैजाने सर्तमा परिवारलाई प्रहरीले जिम्मा लगाएकाे थियाे । भुसाल सुधार गृहमा जानुको सट्टा प्रहरीबाट छुट्ने बित्तिकै पुनः नसाकै तालमा गालीगलौजमा उत्रिएका थिए ।













प्रतिक्रिया दिनुहोस्