काठमाडौं । कात्तिक १६ । वर्षाका कारण आएको पहिरो र लेदोले अवरुद्ध भएको बिपी राजमार्ग आज बिहान ११:३० बजेबाट सञ्चालनमा आएको छ। मंगलटार प्रहरीका असई पुष्कर श्रेष्ठले सो कुराको जानकारी दिनुभएको हाे ।
तीन दिनदेखि अवरुद्ध सडक हिजो साँझदेखि सफा गर्न सुरु गरिएको थियो। सुपरभाइजर चन्द्र लामाका अनुसार, वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा भएपछि यातायात पुनः सुचारु भएको छ।
बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिकास्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले सडक अवरुद्ध भएको थियो। यसबाहेक अन्य विभिन्न ठाउँमा पनि पहिरो र लेदोले सडकमा अवरोध पारेको थियो।
सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका थिए भने केही सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौंतर्फ गएका थिए। सडक छेउमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योगहरूले समय–समयमा राजमार्गमा क्षति पुर्याउँदै आएको छ।
गत असोज १८ र १९ गते आएको वर्षाले रोशी खोला क्षेत्रमा अस्थायी डाइभर्सन बगाएको थियो, जसका कारण एक हप्तासम्म सडक अवरुद्ध भएको थियो। गत वर्ष पनि असोज महिनाको बाढीले सो मार्गमा ठुलो क्षति पुर्याएको थियो।
बिपी राजमार्ग काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास हुँदै तराई जोड्ने प्रमुख मार्गहरूमध्ये एक हो। मार्ग अवरुद्ध हुँदा काठमाडौँ–जनकपुर–बर्दिबास–इटहरीतर्फको यातायात प्रभावित हुन्छ। यसबाहेक रामेछाप, ओखलढुङ्गा, सोलु र भोजपुरतर्फ जाने यातायात पनि यही मार्गबाट सञ्चालन हुन्छ।
स्थानीय बासिन्दाहरूले राजमार्ग आसपासमा ढुङ्गा झिक्दा र क्रसर उद्योग सञ्चालनले माटो कमजोर बनेको भन्दै दीर्घकालीन समाधानको पहल गर्न माग गरेका छन्। उनीहरूले मापदण्ड विपरीत सञ्चालन भएका ढुङ्गा खानी र क्रसर उद्योग बन्द गर्नु पर्ने माग गरेका छन् ।
सडक किनारमा सञ्चालन गरेका क्रसरले थुपारेको माटोको कारण राेशी खाेलाले बहाव परिवर्तन गर्ने गरेको छ । जसले गर्दा सडकका साथै राेशी खोला किनारको खेतमा समेत ठुलो क्षति पुर्याएकाे छ ।













प्रतिक्रिया दिनुहोस्