काठमाडौं, कात्तिक १६ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ राजनीतिक पार्टीहरूले एकताका लागि १८ बुँदे सहमति गरेका छन् ।
एकता सहमतिसँगै माओवादीले माओवादलाई त्याग्दै मार्क्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन तयार भएको छ । योसँगै माओवादका नाममा माओवादीले गरेको सशस्त्र सङ्घर्ष र सो सङ्घर्षमा १७ हजार नेपालीले ज्यान गुमाएको इतिहास विसर्जन भएको छ ।
यसै गरी क्रान्तिकारी पार्टी बनाउने भन्दै माधव नेपाल एमालेबाट चोइटिएर हिँडेको औचित्य पनि समाप्त भएको छ । सो पार्टीका त वरिष्ठ नेता झलनाथ खनाल लगायतले माओवादीमा समायोजन नहुने भन्दै छुट्टै भेला गरिसक्नु भएको छ ।
८ दलबिच नयाँ पार्टीको नाममा सहमति भइसकेको छैन । चुनाव चिन्ह भने पाँचकुने तारा रहनेछ ।

सहमति पत्रमा प्रचण्ड र माधव नेपालसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (समाजवादी) पार्टीका अध्यक्ष राजु कार्की, नेकपाका महासचिव चिरन पुन, नेकपा माओवादी : समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गर्नु भएको छ ।
नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राखिने भएको छ । संयोजक र सहसंयोजक को हुने भन्ने निर्णय आज नभए पनि प्रचण्ड र माधव नेपाल क्रमशः संयोजक र सहसंयोजक हुने गरी सो पद राखिएको हो। आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्न ८ वटै दलहरू सहमत भएका छन् ।
महाधिवेशनपूर्व आगामी कात्तिक १८ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिने सहमति पत्रमा उल्लेख छ ।
उक्त सम्मेलनमा एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिको सहभागिता रहने छ । सम्मेलनबाट पार्टी एकताको घोषणा गर्ने, घोषणापत्र र अन्तरिम विधान पारित गर्ने, र केन्द्रीय समितिको गठन लगायतका कामहरू हुनेछन् ।
एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साबिकका केन्द्रीय शमितहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने जनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्