काठमाडौं, कात्तिक १७। सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई शहीद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ती ४५ जनालाई राज्यका तर्फबाट आधिकारिक रूपमा शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयाे ।
गृह मन्त्रालयका अनुसार, यसअघि आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको विषयमा विस्तृत अध्ययन गरी नामावली तयार गरिएको हो। मन्त्रालयले सरोकारवाला निकायहरूबाट प्राप्त प्रतिवेदनका आधारमा नाम सार्वजनिक गरेको बताएको छ। मन्त्रालयका अनुसार थप व्यक्तिहरूको विवरण सङ्कलन र सत्यापनको प्रक्रिया अझै जारी रहेको छ।
यसअघि नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये ४१ जनाको मृत्यु कारणबारे प्रश्न उठाएको थियो। सेनाले आफ्ना तथ्याङ्कमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख गरेको थियो। सो आन्दोलनका नाममा कतिपय लुटपाट गर्न गएका समेतको भाटभटेनीहरुमा आगो लगाउँदा जलेर मृत्यु भएको छ ।
गृह मन्त्रालयले भने शहीद घोषणा गर्ने निर्णयलाई ‘राज्यद्वारा मान्यता प्राप्त बलिदानप्रतिको सम्मान’को रूपमा लिएको बताएको छ। शहीद घोषणा भएका व्यक्तिहरूका परिवारलाई सरकारले कानुनी प्रक्रिया अनुसार सम्मान, राहत र सहयोगका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।














प्रतिक्रिया दिनुहोस्