जनता टाइम्स

१८ कार्तिक २०८२, मंगलवार १०:०८

रोल्वालिङ हिमशृङखलामा हिमपहिरोमा हराइरहेका चार जनाकाे उद्धार, पाँच अझै बेपत्ता


दाेलखा, कात्तिक १८ । दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ । उद्धार गरिएका सबैजना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी तथा दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो ।

यसैगरी हिमपहिरोबाट जोगिएका थप तीन जना नेपाली पथप्रदर्शकलाई दोलखाको ना गाउँमा सुरक्षित रूपमा राखिएको छ । उनीहरूलाई पनि केही बेरमा उद्धार गरेर चरिकोट ल्याइने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

रोल्वालिङ हिमशृङखलाको डोल्मा खाङ (६,३३२ मिटर) र यलुङ री (५,६३० मिटर) हिमाल आरोहणका लागि आइतबार पाँच विदेशीसहित १५ जना आरोही यलुङ री बेस क्याम्प पुगेका थिए । बाक्लो हिमपातका कारण उनीहरूले सोही स्थानमा टेन्ट टाँगेर बसोबास गरेका थिए । सोमबार बिहान आरोहण सुरु गर्ने तयारीमा रहेका बेला आकस्मिक रूपमा हिमपहिरो खस्दा उनीहरू पुरिएका थिए ।

हिमपहिरोमा पुरिएर एक विदेशीसहित तीन जनाको हिजै मृत्यु भएको पुष्टि भएको छ भने अझै पाँच जना बेपत्ता छन् । हराइरहेका व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको प्रशासनले जनाएको छ ।

उद्धार तथा खोजी कार्यमा नेपाली सेनाको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारकर्मी परिचालन गरिएको छ । टोली हाल ना गाउँ हुँदै हिमपहिरो गएको स्थानतर्फ अघि बढिरहेको छ, तर दुर्गम भौगोलिक स्थिति र प्रतिकूल मौसमका कारण स्थलमा पुग्न कठिनाइ भइरहेको बताइएको छ ।

दुई छुट्टाछुट्टै ट्राभल कम्पनीमार्फत पुगेका आरोही समूहहरू डोल्मा खाङ र यलुङ री दुवै हिमाल आरोहणका तयारीमा रहेका थिए । आइतबार आधार शिविरमा पुगेका उनीहरूले सोमबार बिहानै आरोहण सुरु गर्ने योजना बनाएका थिए, तर बिहानै गएको हिमपहिरोले उनीहरूलाई सोही स्थानमा पुरेको थियो ।

स्थानीय प्रशासनले हालको प्रतिकूल मौसम र बाक्लो हिमपातका कारण हिमाली क्षेत्रका आरोही, गाइड तथा पर्यटकहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ ।