जनता टाइम्स

१८ कार्तिक २०८२, मंगलवार १०:३३

पाँच जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित, अबको जिम्मेवारी अझ गह्रौँ र चुनौतीपूर्ण


काठमाडौं, कात्तिक १८ । नेपाल प्रहरीमा हालै पदोन्नति भएका पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ । नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको गृहमन्त्री स्तरको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति भएका अधिकृतहरूलाई सोमबार एक औपचारिक समारोहबिच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित समारोहमा पदोन्नति प्राप्त पाँच जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले रहनुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रहरी सेवामा देखाएको दक्षता, कार्यकुशलता र इमानदारिताको मूल्याङ्कनका आधारमा प्राप्त पदोन्नति संगठनको उच्च विश्वासको प्रतीक भएको बताउनुभयो । ‘अबको जिम्मेवारी अझ गह्रौँ र चुनौतीपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘परम्परागत सोच र शैलीमा समयानुकूल परिवर्तन गर्दै व्यावसायिक, इमानदार र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी काम गर्नुपर्छ ।’

महानिरीक्षक खापुङ्गले अहिलेको संवेदनशील घडीमा प्रहरी कमाण्डरहरूको भूमिका केवल प्रशासनिक नेतृत्वमा सीमित नरही नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्न

आवश्यकता औँल्याउनुभयो । उहाँले विगतका घटनाबाट सिक्दै आगामी दिनमा देखिन सक्ने चुनौतीहरूलाई चनाखो रूपमा सामना गर्न सूचना सङ्कलन, विश्लेषण र प्रभावकारी प्रहरी परिचालनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । ‘प्रचलित कानुनको कार्यान्वयनमा कुनै पनि सम्झौता गर्न पाइँदैन,’ उहाँले थप भन्नुभयो, ‘प्रत्येक प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनको गौरव बढाउने प्रतिबद्धतासहित काम गर्नुपर्छ ।’

पदोन्नति प्राप्त अधिकृतहरूको तर्फबाट प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले संगठनले राखेको विश्वास, भरोसा र अपेक्षालाई कायम राख्दै प्रहरी संस्थाको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अन्य प्रहरी अधिकारी तथा जवानहरूको समेत उपस्थिति थियो ।