जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार ०८:४७

नेपालमा बढ्यो लगानीको आकर्षण, चार महिनामै यति पुग्यो


काठमाडौँ, मंसिर १०

लगानी वातावरण सुधार गर्नका लागि नीतिगत तथा व्यावहारिक सुधारमा सरकारले तीव्रता दिएसँगै नयाँ उद्योग दर्ता र वैदेशिक लगानी प्रतिबद्धता पनि बढेको छ ।

चालू आर्थिक वर्ष २०७६\०७७ को पहिलो चार महिनामा मात्रै नेपालमा एक खर्ब ३९ अर्ब १९ करोड रुपियाँ लगानीका १३ हजार ११६ उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । गत वर्षको सोही अवधिमा एक खर्ब नौ अर्ब ४३ करोड रुपियाँ लगानी थपिएको थियो । यसअनुसार चार महिनामा गत वर्षभन्दा ३० अर्ब रुपियाँ बढी लगानी भएको हो ।

गत चौमासिकमा औद्योगिक क्षेत्रमा विदेशी लगानी पनि उच्चदरले बढेको देखिएको छ । गत वर्ष पहिलो चौमासिकमा विभागले आठ अर्ब ४८ करोड रुपियाँको लगानी स्वीकृति दिइएकामा यो वर्ष करिब दोब्बर हुँदै १५ अर्ब ७७ करोड पुगेको देखिएको छ । लगानी बोर्डले गत आर्थिक वर्षको पहिलो चार महिनामा ३८ अर्ब ६४ करोडको स्वीकृति दिएको थियो तर अहिले यो परिमाण बढेर ६६ अर्ब ८० करोड पुगेको हो । यो अवधिमा १०४ उद्योगमा वैदेशिक लगानीका लागि स्वीकृति दिइएको थियो ।

विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार उद्योग दर्ता तथा लगानीमा उल्लेख्य प्रगति देखिनुमा राजनीतिक स्थिरता र त्यसले लगानीकर्तामा बढाएको मनोबल पहिलो कारण हो । “राजनीतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैत्री ऐन, नियम र ऊर्जाको पर्याप्तताले गर्दा समग्र उद्योग क्षेत्रमा प्रगति देखिएको हो,” उहाँले भन्नुभयो, “औद्योगिक पूर्वाधारमा सरकारले लगानी बढाउनु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालबाट सुविधा तथा छुट प्राप्त हुनु पनि औद्योगिक लगानीका लागि सबल पक्षका रूपमा स्थापित भएका छन् ।”

यो वर्ष थपिएका उद्योगमा ठूला उद्योग २८, मझौला उद्योग ४९ र लघु घरेलु तथा साना उद्योगको सङ्ख्या १३ हजार ३८ छन् । लगानी बोर्ड मातहत एउटा उद्योग दर्ता भएको छ । उद्योग विभागले विदेशी लगानी स्वीकृति दिएका १०३ उद्योगमध्ये साना उद्योगतर्पm ५७ उद्योगमा पाँच अर्ब ७८ करोड, मझौलातर्पm ४४ उद्योगका लागि नौ अर्ब २४ करोड र ठूला दुई उद्योगमा ७५ करोड रुपियाँबराबरको विदेशी लगानीको स्वीकृति दिएको छ । उत्पादन, सेवामूलक र पर्यटन नेपालमा लगानी आकर्र्षित गर्ने क्षेत्र हुन् । गत असार मसान्तसम्म उद्योग विभागमा उत्पादनमूलक तीन हजार ७०, सेवामूलक दुई हजार १८७, पर्यटनमा एक हजार ७३२, कृषि तथा वन पैदावारमा ४६९, ऊर्जामूलकमा ३७६ उद्योग दर्ता भएको तथ्याङ्क छ । यीमध्ये विदेशी लगानीसमेत भएका सेवामूलक एक हजार ६१०, पर्यटनका एक हजार ५०३ र उत्पादनमूलक एक हजार १६७ उद्योग रहेका छन् ।

उद्योग क्षेत्रको यो प्रगति हुदाहुदै पनि विभिन्न सुधार अझै बाँकी रहेको र ती पूरा गर्नेतर्पm विभाग केन्द्रित रहेको महानिर्देशक सिटौला बताउनुहुन्छ । “लगानीमैत्री ऐन, नियम एवं नीतिगत सुधारको प्रभावकारी कार्यान्वयन, एकलबिन्दु सेवा केन्द्रको प्रभावकारिता विस्तारमा हामीले ध्यान दिनुपर्नेछ,” उहाँले भन्नुभयो, “अटोमेसन तथा डिजिटलाइजेसन, प्रक्रियागत सरलीकरण र उत्पादन, उत्पादकत्व व्यापारबीच परिणाममुखी अन्तरसम्बन्धको विकास, सार्वजनिक निजी साझेदारी र विश्वासको वातावरण अभिवृद्धिलाई पनि हामीले सुधारका एजेँडा बनाएका छौँ ।”