काठमाडौं, कात्तिक १९। नेकपा (एकीकृत समाजवादी) पार्टी आज औपचारिक रूपमा तीन धारमा विभाजित हुने सङ्केत देखिएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्र र अन्य दलहरूसँग एकीकरण गर्न तयार रहँदा, रामकुमारी झाँक्रीसहितको समूह पुनः एमालेमा फर्किने तयारीमा छ भने घनश्याम भुसाल नेतृत्वको अर्को समूहले नयाँ राजनीतिक संरचना बनाएर पार्टी पुनर्गठनको घोषणा गर्न लागिरहेको छ ।
आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको एकता घोषणा सभा हुन लागेको हो । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राख्ने र चुनाव चिन्ह पाँच कुने तारा रहने सहमति भएको छ ।
यता, माधव नेपाल नेतृत्वको संस्थापन पक्ष एकीकरणमा अघि बढे पनि पार्टीभित्रको असन्तुष्टि खुलेर अभिव्यक्त भएको छ छ । पार्टी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायतका नेताहरू एमालेमा पुनः प्रवेशको तयारीमा हुनुहुन्छ । उहाँहरूका अनुसार आजै पत्रकार सम्मेलन गरी एमालेमा फर्किएको घोषणा गर्ने योजना बनाइएको छ ।
अर्कोतर्फ, वरिष्ठ नेता झलनाथ खनाल भने अझै निर्णयहीन अवस्थामा रहनुभएको छ । उहाँले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको र पार्टीगत भविष्यबारे आन्तरिक छलफल जारी रहेको बताइएको छ ।
त्यसैगरी, घनश्याम भुसाल नेतृत्वको समूहले भने पार्टी पुनर्गठनको तयारीलाई अन्तिम रूप दिइरहेको छ । भुसाल पक्षले आजै अर्को पत्रकार सम्मेलनमार्फत नयाँ राजनीतिक अभियानको सुरुवात गर्ने योजना बनाएको छ ।
यसरी आज हुने एकता घोषणासँगै नेकपा (एकीकृत समाजवादी) औपचारिक रूपमा तीन धारमा विभाजित हुने निश्चित भएको छ—माधव नेपाल माओवादीमा, रामकुमारी झाँक्री समूह एमालेमा र घनश्याम भुसाल समूह नयाँ संरचनाको तयारीमा । यस घटनाले नेपालको वाम राजनीतिमा पुनः ठूलो पुनर्संरचना र शक्ति सन्तुलनको नयाँ चरण सुरु गर्ने सङ्केत दिएको छ ।













प्रतिक्रिया दिनुहोस्