जनता टाइम्स

१९ कार्तिक २०८२, बुधबार १३:४६

राष्ट्रनिर्माणको बाटो : केपी ओलीको भिजन र भ्रममा हराएका पात्रहरू


युवाहरूले अब भ्रम होइन, तथ्य हेर्नु पर्छ। देश बनाउने काम फेशबुक र टिकटकमा होइन, दृष्टि, योजना र कार्यक्रममा हुन्छ। र त्यो दृष्टि अहिले नेपालको राजनीतिमा केवल केपी ओलीमा बाँकी छ।

ई. गुरु भट्टराई

नेपालको राजनीतिक इतिहासमा नेतृत्वको असल दृष्टि र राष्ट्रप्रतिको इमानदारीता सधैं दुर्लभ कुरा रहँदै आएको छ। यहाँ कुर्सी, स्वार्थ, र व्यक्तिगत लोभको राजनीति हावी छ। तर यस भीडमा पनि केही नेतृत्वहरू उभिएका छन् जसले देशलाई दीर्घकालीन सोच र राष्ट्रिय गौरवको बाटोमा डोर्याउन अधिकतम प्रयास गरिरहेका छन्। तीमध्ये प्रमुख नाम निस्सन्देह केपी शर्मा ओली हुन्, जो आज पनि राष्ट्रनिर्माणको सपना बोकेर दृढतापूर्वक उभिएका छन्। तर उनको यो भिजनलाई कमजोर बनाउने, दिशाभ्रष्ट गर्ने, र जनताको भावनासँग खेल्नेहरूको लामो लिस्ट छ । गगन थापा र विश्वप्रकाश शर्मा देखि प्रचण्ड, माधव नेपाल, बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ र जेनजीका सुदन–मिराजसम्म। यी सबै पात्रहरूको कार्यशैली र चरित्रले नेपालको उज्जवल भविष्यको सम्भावनालाई शून्यमा झार्ने प्रयास गरिरहेको छ।

नेपाली कांग्रेस ऐतिहासिक रूपमा लोकतान्त्रिक आन्दोलनको प्रतीक थियो। तर आजको कांग्रेस विचार होइन, व्यक्तिको पार्टी बनेको छ। गगन थापा र विश्वप्रकाश शर्माहरुले “युवा” नामको ब्रान्ड बेचेर पार्टीभित्र सत्ता–संघर्षको बजार चलाइरहेका छन्। गगन थापाको भाषणमा जोश छ, तर दृष्टि छैन। विश्वप्रकाश शर्माको शैली आकर्षक छ, तर कार्यशैलीमा स्थायित्व छैन। दुवै नेताले कांग्रेसभित्रको संगठनात्मक एकतालाई भङ्ग पारेका छन्। सस्थापन पक्ष (शेरबहादुर देउवा) विरुद्धको उनीहरूको आक्रोश कुनै वैचारिक विद्रोह होइन, कुर्सीको लडाइँ हो। यसरी कांग्रेस आज न विचारको केन्द्र रह्यो, न लोकतान्त्रिक विकल्पको प्रतीक। यो लोकतन्त्रको नाममा अराजकहरुको चौतारी बनिरहेको छ । जनतालाई चाहिएको इमानदार नेतृत्व हो, तर कांग्रेसले आत्मप्रचारमा लिप्त जोडी दिएको छ जसले कांग्रेसलाइ झन् कमजोर बनाएको छ।

माधवकुमार नेपाल कुनैबेला नेकपा एमालेका महासचिव थिए । दुइ स्थानबाट चुनाव हारेर पनि हुलमुलमा टीके प्रधानमन्त्री बने, र आज आफूलाई “समाजवादी” भन्न रुचाउँछन्। तर उनका हरेक निर्णयहरूमा वैचारिकता होइन, आत्म प्रसंशा, कुन्ठा, डर र स्वार्थ हावी छ। ओलीप्रति व्यक्तिगत द्वेष र आफ्नै राजनीतिक भविष्यप्रतिको असुरक्षाले उनलाई प्रचण्डसँग हातेमालो गर्न बाध्य बनाएको छ । परिणाम स्वरूप, समाजवादी नामको पार्टी आज तीन टुक्रामा विभाजित छ। भ्रष्टाचारका मुद्दा लागेपछि उनी जनतालाइ जवाफ हैन, “एकता” को ढाल खोज्दै माओवादीसँग थुतुनो जोड्न गएका छन् । तर त्यो ढाल नै उनको राजनीतिक अवशानको कारण बन्दैछ । जब नेता आफ्नो अस्तित्व बचाउनका लागि देशको हित बेच्न थाल्छ, त्यो क्षणदेखि उसले नेतृत्वको अधिकार गुमाउँछ। माधव नेपालको हविगत त्यही भएको छ, दया लाग्छ ।

माओवादी अहिले सिद्धान्तको मृत शरीर बनेको छ । माओवादी आन्दोलन कहिल्यै क्रान्ति थिएन । त्यसले हजारौं युवाको जीवन खोस्यो, हजारौं आमाको आँसु झार्यो। तर त्यस आन्दोलनको नाममा जन्मिएका प्रचण्ड र उनका सहकर्मीहरू आज आफ्नो क्रान्तिकारी हैसियत गुमाएर सत्ता र सुविधामा लिप्त व्यापारी बनेका छन्। माओवादी–समाजवादी एकता भन्ने निर्णय जनतालाई झुक्याउने अर्को “पावर प्रोजेक्ट” मात्र हो । न विचार मिल्छ, न दिशा। अहिले माओवादी दर्जनौं टुक्रामा फुटेर पतनको बाटोमा छ। माओबाद विसर्जनवादको बाटोमा पुगेको छ । क्रान्तिको नाममा राजनीति गर्नेहरू आज भ्रष्टाचारको दलदलमा अल्मलिएका छन्। प्रचण्डका लागि क्रान्ति अब जनताको होइन, आफ्नै छोराछोरी, नातागोताको भविष्य सुरक्षित गर्ने साधन बनेको छ।

जेनजी आन्दोलनको सुरुमा केही आदर्श देखिएको थियो । नवयुवाहरुले पुरानो राजनीतिक संस्कृतिविरुद्ध आवाज उठाए। तर त्यसको कुनै औपचारिक संरचना, नीतिगत दिशानिर्देश, वा वैचारिक लक्ष्य थिएन। “सुदन” र “मिराज” जस्ता अनुहारहरू मिडिया–फ्रेममा देखिए, तर उनीहरूको कामले भन्दा संजालको प्रचारले आन्दोलनलाई ठूलो बनायो। केही समयका लागि त्यसले दलहरूलाई हल्लायो, तर अन्ततः जनताले बुझ्न थाले – यो आन्दोलन पनि ठोस दृष्टिकोणविनाको एक “सोसल–मिडिया हाइप” मात्रै थियो। नेपाल घ्वस्त बनाउने देशी बिदेशी खेलाडीहरुको प्रपञ्च थियो । त्यसैले जेनजी आन्दोलन देश ध्वंश गरेर एक थान मध्यावधि निर्वाचन गर्ने स्थितिमा पुगेर बिश्राम लिएको छ । परिणामतः यसले जनमत उल्टो दिशामा मोडेको छ । देश बिरुद्ध गरिएका षडयन्त्रहरु क्रमश उजागर भएका छन् । आज जनताको सहानुभूति फेरि केपी ओली र एमालेतर्फ फर्किँदै छ, किनकि ओलीको भिजनमा नारा होइन, ठोस योजना र राष्ट्रिय गौरव जोडिएको छ।

बालेन साह र रवि लामिछाने नयाँ पुस्ताका प्रतिनिधि हुन् भन्ने भ्रम केही समय जनतामा छायो। तर समयले देखायो यी दुबै “जनताको नाममा आत्मप्रचार” गर्ने पात्र मात्र हुन् भनेर।
बालेनले काठमाडौंलाई व्यवस्थापन होइन, प्रयोगशाला बनाए। सामाजिक सञ्जालमा लाइक र शेयरका लागि गरेको प्रदर्शनले शहरको अस्तव्यस्तता झन् बढायो। उनले सडकमा ढुंगा हान्नेहरूलाई हिरो बनाए, देश आगो लाउनेलाइ उक्साए, तर नागरिक सरोकारलाई बेवास्ता गरे। जेनजी आन्दोलन पछी भएको आलोचनाले बालेन शाह विक्षिप्त छन् र नशा सेवन गरेर सामाजीक संजालमा अश्लिलता बरबराउन थालेका छन् ।

रवि लामिछाने पनि सोही बाटोमा छन् । पत्रकारिताबाट राजनीति पुगेका उनले जनताको पीडा भन्दा पनि आफ्नो छवि निर्माणमा जोड दिए। “लोकप्रियता” र “जिम्मेवारी” को फरक उनले कहिल्यै बुझेनन्। सहकारी ठगी, दोहोरो नागरिकता, ३-४ विहेवारी, नख्खु जेल ब्रेक लगायत थुप्रै आरोपको जवाफ लामिछानेसंग छैन । यि दुवै नेताको पपुलिज्म अब जनताले बुझिसकेका छन् । खाली लोकरिझ्याइ प्रदर्शनले देश बन्दैन।

यसै दिशामा छ एउटा पूर्व नोकरशाह । कुलमान घिसिङलाई केही वर्षअघि “चमत्कारी प्राविधिक” का रूपमा चित्रित गरियो। तर साँचो कुरा के हो भने लोडसेडिङ अन्त्यको आधारभूत पूर्वाधार र विद्युत व्यवस्थापनको योजना केपी ओलीकै कार्यकालमा तयार भएको थियो। ओलीको नेतृत्वमा गरिएको संरचनात्मक सुधार, आयोजना सञ्चालन, र नीति निर्माणकै कारण कुलमानले त्यो उपलब्धि देखाउने मौका पाए। तर उनले त्यसलाई “व्यक्तिगत चमत्कार”को रूपमा प्रचार गरे। विद्युत खरिद–बिक्रीमा अर्बौंको अनियमितता, उद्योगका लाइन काटेर अर्थतन्त्र तहसनहस पार्ने निर्णय, र अहिले दल खोलेर नेता बन्ने दाउ, यी सबै कुलमानको स्वार्थी राजनीति हो । उनी आफ्नो “भ्रष्टाचार र असफलता” लुकाउन नयाँ पार्टीको आडमा सुरक्षा खोज्दैछन्। तर जनताले अब बुझिसकेका छन् – ऊनी पनि पपुलिज्मको अर्को अवतार हो।

जेनजी आन्दोलनबाट जन्मिएको सरकार सुरुमा आदर्शको नाममा बनेको थियो, तर अहिले त्यो सरकार बाटो विराएको यात्री झैँ छ। न त्यसको नीति स्पष्ट छ, न प्राथमिकता। विदेशीक हस्तक्षेप, व्यक्तिगत महत्वाकांक्षा, र अनुभवहीनताको घालमेलले देशलाई पुनः अनिश्चिततामा धकेलेको छ। जनतामा उत्साह घट्दै गएको छ, कारण – “विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन” भन्ने शब्द न त नीतिमा देखिन्छ, न व्यवहारमा। यही कारण आज जनमत फेरि ओलीको भिजनतर्फ फर्किएको छ।

नेपालको भौगोलिक स्थिति, प्राकृतिक स्रोत, र सामरिक महत्वले सधैं देशलाई ठूलो सम्भावना दिएको छ। तर ती सम्भावनाहरूको उपयोग गर्न रणनीतिक दृष्टि चाहिन्छ । त्यो दृष्टि आज पनि केवल केपी ओलीसँग मात्रै छ। ओलीले राष्ट्रिय आत्मनिर्भरता, पूर्वाधार निर्माण, ऊर्जा निर्यात, र स्वाभिमानपूर्ण परराष्ट्र नीति को बाटो देखाए। उनले विकासलाई केवल सडक र भवनको सवालमा सीमित नराखी, राष्ट्रको आत्मगौरवसँग जोडिदिए। अवश्य, ओलीका पनि केही कमजोरीहरू थिए, कहिलेकाहीँ कठोर निर्णय र संचारप्रतिको असंवेदनशीलता देखिएका हुन् । तर नेतृत्वको मापन कमजोरीले होइन, सुधार गर्ने क्षमताले हुन्छ। ओलीले आफूले गरेका त्रुटि आत्मसात् गर्दै देशलाई पुनः दिशा दिने क्षमता राख्दछन् ।

आज नेपाललाई चाहिएको कुरा नारा होइन, कार्यदृष्टि हो; न नाटक, न भाषण, दिगो योजनासहितको राष्ट्रनिर्माण। त्यस दृष्टिले हेर्दा, केपी ओली मात्र त्यो काम गर्न सक्ने एकमात्र सक्षम नेता हुन्। उनको भिजन स्पष्ट छ; नेपाललाई आत्मनिर्भर, बलियो र समृद्ध राष्ट्र बनाउने। उनको नीति ठोस छ; उद्योग सञ्चालन, ऊर्जा निर्यात, पूर्वाधार विस्तार, र राष्ट्रिय स्वाभिमानको संरक्षण। र सबैभन्दा महत्वपूर्ण कुरा उनको राष्ट्रिय भावना निष्कपट छ।

नेपालले धेरै प्रयोगहरू गरिसक्यो । राणा बिरुद्ध बिद्रोह, पंचायत बिरुद्ध क्रान्ति, माओवादी क्रान्ति, गणतन्त्रको यात्रा, नेकपा एकता र विभाजन, जेनजी आन्दोलन इत्यादी । तर हरेक पटक जनताले निराशा पाए। अब देशलाई चाहिएको हो स्थायित्व, नीतिगत स्पष्टता, र राष्ट्रप्रेम। केपी ओलीले विगतमा देखाएका विकास योजनाहरू, राष्ट्रिय गौरवका आयोजना, र आत्मनिर्भर नेपालको सपना आज पनि सम्भव छन यदि नेतृत्व उनमा पुन फर्काइयो भने। युवाहरूले अब भ्रम होइन, तथ्य हेर्नु पर्छ। देश बनाउने काम फेशबुक र टिकटकमा होइन, दृष्टि, योजना र कार्यक्रममा हुन्छ। र त्यो दृष्टि अहिले नेपालको राजनीतिमा केवल केपी ओलीमा बाँकी छ।

नेपालको भविष्यको बाटो फेरि ओलीको भिजन हुँदै अघि बढ्ने संकेत स्पष्ट भइसकेको छ । अब प्रश्न केवल एक हो, के हामी त्यो राष्ट्रनिर्माणमा सहभागी बन्न तयार छौं ? लागु औषद दुर्ब्यसनी, संजालमा भिउजका भोका, मानशिक सन्तुलन गुमाएका बिक्षिप्त मुर्दा शरीरहरू, नक्कली लोकरिझ्याइँमा रमाउन पल्केका फटाहा नोकरशाहहरू, बिदेशीको गुलामी गरेर देश विरुद्ध भ्रम फैलाउने एनजीओकर्मी, आँगरिक समाज, बिदेशीका दावेदारी गरेर जीवन जीउँने कथित शिक्षित वर्ग र लोकतन्त्रमा राज्य संचालनका बिधि पद्धतिका बिषयमा केही नजान्ने दुधे वालकहरूका तान्डव नृत्यलाई देश बनाउने फर्मुला ठानिएको छ। यसबाट मुक्त नभइ देश बन्दैन, बन्दै त बन्दैन। नेपाली जनता! अब त चेत! देश चमत्कारले बन्दैन। सबै जिम्मेवार बन्न जरुरी छ।