जनता टाइम्स

१९ कार्तिक २०८२, बुधबार १३:२९

प्रचण्ड-माधव नै कम्युनिष्ट पार्टी विभाजनको मुख्य दोषी हुन्, नेतृत्वमा रहँदासम्म पार्टी पुनर्गठन असम्भव : घनश्याम भुसाल


काठमाडौं, कात्तिक १९ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्व छाडे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको बताउनु भएको छ ।

माओवादीसँग एकतामा असहमति राखेर छुट्टै अभियान थाल्नुभएका नेकपा एसका महासचिव भुसालको समूहले आज पत्रकार सम्मेलन गरी यस्तो बताएको हो । यसअघि भुसालले आज बिहान प्रचण्ड निवासमा भएको भेटको प्रसङ्ग कोट्याउँदै शीर्ष नेताहरू रहेसम्म कम्युनिस्ट पार्टी पुनर्गठन सम्भव नभएको निष्कर्ष सुनाउनु भयो ।

‘आज पनि प्रचण्डले माधव नेपालसहित बोलाउनुभएको थियो, हाम्रो बटमलाइन भनेको तपाईँ नेताहरूले बाटो छाड्नुस्, त्यसपछि छलफल गरेर, सबै कमीकमजोरीको मूल्याङ्कन गर्छौँ । नेता बसुन्जेल त कुनै मूल्याङ्कन नै हुँदैन । जस्तोसुकै अपराध गरे पनि बहुमतले निर्णय गर्छ । तपाईँहरूका कारणले कम्युनिष्ट आन्दोलन पुनर्गठनको प्रक्रिया रोकियो । छाड्नुस्, हामी एकीकृत हुन्छौँ,’ पत्रकार सम्मेलनमा भुसालले भन्नुभयो ।

पदको बार्गेनिङ गरेर एकता प्रक्रियामा असहमति जनाएका होइनौँ
पत्रकार सम्मेलनमा महासचिव भुसालले आफूहरू पदको बार्गेनिङ गरेर आफूहरू एकता प्रक्रियामा असहमति नजनाएको पनि प्रष्ट पार्नुभयो । भुसालले कम्युनिस्ट पार्टीहरूलाई विभाजित गर्ने काम मुख्य नेतृत्वहरूले गरेको आरोप पनि लगाउनु भयो ।

माओवादीसहित ९ पार्टीसँग एकता प्रक्रियामा असहमति राख्दै आएका नेता भुसालले पत्रकार सम्मेलन गर्दै पार्टीको बहुमतले निर्णय गरेको भए पनि आफ्नो विमति रहेको बताउनु भयो । ‘पार्टीको बहुमतले निर्णय गरेको भए पनि हामीले कुनै पदको बार्गेनिङ गरेर असहमति राखेका होइनौँ । यो एकता प्रक्रियाको सुरुदेखि नै हामीले केही प्रश्नहरू उठाउँदै आएका छौँ,’ भुसालले भन्नुभयो ।