बुटवल, कात्तिक १९ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले एमाले निर्वाचनबाट कहिल्यै नभाग्ने स्पष्ट पार्नुभएको छ । उहाँले एमाले सधैँ जनताको अनुमोदनमा आधारित शासन व्यवस्थाको वकालत गर्ने दल भएकाले जनादेशबाट भाग्ने प्रश्नै नउठ्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले एमाले जनताको बिचमा जान सधैँ तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले कहिल्यै निर्वाचनबाट डराएर भाग्दैन, तर वर्तमान अवस्थामा भइरहेको तयारीले निष्पक्ष र सहभागी निर्वाचनको वातावरण बनाउन सकेको छैन ।’
देशलाई संवैधानिक प्रक्रियामा फर्काउन प्रतिनिधि सभा पुनर्स्थापना नै पहिलो आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा पुनर्स्थापना भएर त्यसबाट बन्ने सरकारले मात्रै संविधानको मार्गदर्शनअनुसार निर्वाचन गराउन सक्छ ।’
पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले नेकपा (एमाले) को ‘बटमलाइन’ नै संसद् पुनर्स्थापना र संवैधानिक बाटोमा फर्किनु भएको बताउनुभयो । उहाँले संसद् पुनर्स्थापना गरी त्यसबाट बन्ने नयाँ सरकारले संविधान संशोधनमार्फत सदस्य नभएका व्यक्तिलाई समेत प्रधानमन्त्री वा मन्त्री बन्ने बाटो खुला गर्न सक्ने र त्यसपछि मात्र मुलुकले नयाँ निर्वाचनको तयारी गर्नुपर्ने बताउनुभयो ।
उहाँले संविधान संशोधनमार्फत स्थायित्व र वैधतासहितको निर्वाचन गराउने उपाय दीर्घकालीन समाधान हुने बताउनुभयो । ‘संविधान बचाउन संसद् पुनर्स्थापना अनिवार्य छ,’ उहाँले भन्नुभयो, ‘संसद् नै जनताको सार्वभौम निकाय हो, त्यसलाई कमजोर पारेर लोकतन्त्र बलियो हुन सक्दैन ।’
उहाँले जेनजी आन्दोलनको पृष्ठभूमिमा युवापुस्ताको असन्तुष्टि र आकाङ्क्षालाई सम्बोधन गर्न पनि संसद् पुनर्स्थापना अपरिहार्य रहेको बताउनुभयो । ‘जेनजी पुस्ताको माग र भावना संविधानको दायराभित्र सम्बोधन गर्नुपर्छ, त्यसका लागि संसद् पुनर्स्थापना नै पहिलो पूर्वशर्त हो,’ उहाँको भनाइ थियो ।
उपाध्यक्ष पौडेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यले घटनाका दोषी जोसुकै हुन्, उनीहरूलाई कानूनी दायरामा ल्याउनुपर्छ । आगजनी, तोडफोड र हिंसामा संलग्न जोसुकै होउन्, सबैले कानूनी जबाफदेहिता वहन गर्नुपर्छ ।’
उहाँले सुरक्षा निकायको मनोबल कमजोर भएको टिप्पणी गर्दै देशभर लुटिएका हतियार अझै फिर्ता नभएकाले शान्ति–सुरक्षाको अवस्था कमजोर रहेको बताउनुभयो । ‘देशभर लुटिएका हतियार अझै फिर्ता आएका छैनन्, यो चिन्ताको विषय हो,’ उहाँले भन्नुभयो, ‘सुरक्षा संयन्त्रको मनोबल उठाउने र जनताको सुरक्षा भावना बलियो बनाउने जिम्मेवारी राज्यको हो ।’
उपाध्यक्ष पौडेलले आगामी महाधिवेशनमा नेकपा (एमाले) बाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीभित्र मतभेद होइन, एकताको भावना बलियो छ । त्यसैले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व आउनेछ, जसले देशको समस्याको समाधानमा एमालेलाई अझ जिम्मेवार बनाउनेछ ।’

जेनजी आन्दोलनका युवापुस्ताको भावना प्रति सम्मान व्यक्त गर्दै उहाँले नयाँ निर्वाचनमार्फत गठन हुने सरकारले संविधान संशोधन गरेर युवाहरूको आकाङ्क्षाअनुरूप व्यवस्थामा जान सक्ने बताउनुभयो । ‘जेनजी पुस्ताको भावना हामी सबैका लागि प्रेरणाको विषय हो,’ उहाँले भन्नुभयो, ‘संविधानमा आवश्यक सुधार गरेर त्यसलाई संस्थागत गर्ने बाटो एमाले खुला राखेको छ ।’
कार्यक्रम प्रेस चौतारी रुपन्देहीकी अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय प्रतिनिधिहरू, पत्रकारहरू तथा नेकपा (एमाले) का स्थानीय नेताहरूको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्