काठमाडौं, कात्तिक २० । प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते भएको घटना सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरी कर्मचारीको सूची पठाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत उपत्यकामा खटिएका प्रहरीको सूची पठाइएको हो। उक्त सूची प्राप्त गरेको जाँचबुझ आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिनुभयो ।
सदस्य शर्माका अनुसार सूची प्राप्त भएसँगै प्रहरीको बयान लिने तयारी अघि बढाइएको छ। शर्माले अन्य ठाउँमा खटिएकाहरूको विवरण प्रहरी प्रधान कार्यालयसँग माग गरेको जानकारी दिनुभयो ।
यसअघि जाँचबुझ आयोगले बुधबार विवरण नदिएको भन्दै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको थियो। विवरण माग गर्दा समयमा उपलब्ध नगरी आयोगको छानबिनमा बाधा पुर्याएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो।

प्रहरी प्रधान कार्यालयको सो जवाफपछि आयोगले जाँचबुझ आयोगको मानमर्दन गरेको भन्दै किन कारबाही नगर्ने भनेर आइजिपी खापुङकै नाममा पत्र काटेको हो। जबाफमा देशभरिको सूची पठाउन समय लाग्ने बताउँदै आयोगलाई प्रधान कार्यालयले उपत्यकाको मात्रै सूची पठाएको हो।













प्रतिक्रिया दिनुहोस्