झापा, कात्तिक २० । नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिको निष्पक्ष मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।
आज बिहान बिर्तामोडमा विशेष पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले नेताका घरहरु छानी छानी आगजनी गर्ने, तोडफोड गर्नेहरुको पहिचान भइसकेकोले कारबाही ढिलाई नगर्न सरकारसँग माग गरेको छ ।
पत्रकार सम्मेलन मार्फत जेनजी आन्दोलनमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति नष्ट हुनु अपराधको दायरा भित्र पर्ने भन्दै दोषीको पहिचान गरी कानूनी कारबाही गर्न आग्रह गरिएको हो ।
नगर पार्टी अध्यक्ष सुवास भट्टराईले भदौ २३ र २४ गते बिर्तामोड क्षेत्रमा भएको घटनामा पार्टी नेतासहित स्थानीय प्रतिनिधि, सरकारी कार्यालय, दलका कार्यालयहरु लगायतका संरचनामा आगजनी तथा लुटपाट भएको विवरण सार्वजनिक गर्दै सो घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
बिर्तामोड नगरपालिकाको भवन, बिर्तामोड नगरपालिकाका ८ वटा वडा कार्यालय, नेपाल टेलिकम, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी, भाटभटेनी सुपर स्टोर लगायतका संरचनामा तोडफोड र आगजनी भएकाले ठूलो आर्थिक क्षति पुगेको उल्लेख गरिएको छ ।
त्यस्तै, पार्टी नगर कमिटी अध्यक्ष सुवास भट्टराई, पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटी, एकराज कार्की, प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष मदन बुढाथोकी लगायतको घर तथा गाडीमा समेत आगजनी र लुटपाट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विकास नरोक्न चेतावनी
पत्रकार सम्मेलनमा पूर्वप्रधानन्यायाधीश नेतृत्वको ‘असंवैधानिक सरकार’ले संसदले पारित गरेको बजेट रोकेपछि बिर्तामोडमा विनियोजित करिब २८ करोड रुपैयाँ बराबरका विभिन्न सडक र पूर्वाधार योजनाहरू ठप्प परेको बताइएको छ ।
रोकिएका योजनाहरू तत्काल कार्यान्वयन गर्दै ठेक्का प्रक्रिया सुरु गर्न सरकारले कदम चाल्नुपर्ने माग एमालेको छ ।
एमालेले सहरी विकास मन्त्रालय अन्तर्गतको हर्चना पुल उत्तर खोलामा तटबन्ध, मोहनमाया विद्यालय, देउनियाँ–घैलाडुब्बा सडक, देउनियाँ पुलदेखि बिर्तामोड–७ जाने सडकसहितका योजनासमेत प्रभावित भएको जनाएको छ ।
किसानका लागि राहतको माग
कात्तिकमा परेको बेमौसमी वर्षाका कारण पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको भन्दै पार्टीले तीनै तहका सरकारले प्रभावित किसानलाई उचित क्षतिपूर्ति व्यवस्था गर्न माग गरेको छ ।
बिर्ताबजारमा जागरसभा
पार्टीको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएकोले सम्पूर्ण कार्यकर्ता र जनसमुदायलाई तयारीमा जुट्न नगर कमिटीले आग्रह गरेको छ ।
त्यसैगरी, केन्द्रीय निर्णयअनुसार कात्तिक २२ मा वडास्तरीय, २५ मा पालिकास्तरीय (बिर्ताबजार) र २९ गते जिल्लास्तरीय जागरणसभा गर्ने निर्णय सार्वजनिक गरिएको छ ।
विज्ञप्तिमा प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन भएको आरोप लगाउँदै पुनःस्थापना र संविधान संशोधनमार्फत नवयुवाको मुद्दा समाधान हुने वातावरण बनाउनुपर्ने स्पष्ट गरिएको छ ।
शहीद प्रतिमाको तोडफोडप्रति आपत्ति
यस्तै, एमालेले गरामनी बजारमा शहीदहरुको प्रतिमा तोडफोड हुनुलाई अपराध गरेको भन्दै उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न माग गरेको छ । एमालेले वर्तमान राजनीतिक अस्थिरताको फाइदा उठाउँदै अराजक तत्व सक्रिय रहेको आरोप लगाउँदै व्यवसाय, शिक्षा र सर्वसाधारणको सुरक्षामा प्रशासन गम्भीर हुनुपर्ने माग गरेको छ ।

आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति एमालेले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारलाई क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्न माग गरेको छ ।
पत्रकारहरुको जिज्ञासामा जवाफ दिदै अध्यक्ष भट्टराईले एमाले युवाहरुको, जेनजीहरुको पार्टी भएको बताए । युवाहरुले नै बनाएको पार्टी एमालेले मात्रै युवाहरुको माग सम्बोधन गर्न सक्ने स्पष्ट पारेका छन् ।













प्रतिक्रिया दिनुहोस्