काठमाडौं, कात्तिक २१ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की संविधान मिचेर पदमा पुगेको बताउनुभएको छ ।
एमाले शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा सम्बोधन गर्दै उहाँले पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री हुनै नमिल्ने बताउनुभयो ।
मानव अधिकार आयोगमा बाहेक पूर्वन्यायाधीशहरुले नियुक्ति लिन नमिल्ने उहाँले दबी गर्नुभयो । ‘तर, पूर्वप्रधानन्यायाधीश भएकी मान्छे संविधान मिचेर प्रधानमन्त्री हुन तयार, यो भनेको सोझै असंवैधानिक, प्रतिगामी, संविधान मिचुवा हाहुको भरमा बनेको सरकार हो ।’
उहाँले दुई–तीन हजार केटाकेटी डिस्कर्डमा जम्मा भएर सरकार बनाएको भन्दै त्यसप्रति आपत्ति जनाउनुभयो । उहाँको भनाइ थियो, ‘दुई–तीन हजार केटाकेटी डिस्कर्डमा जम्मा भएर सरकार बनाएको अरे ! दुनियाँमा कतै नभएको अभ्यास नेपालमा भएको हो, डिस्कर्डबाट शासनमा जाने ? भोटिङ गरेको अरे ! कसले गरेको त्यो ? मतपत्र कस्तो थियो ? रेजा लायो कि प्वाल पार्यो, अमेरिकामा जस्तो ?’
उहाँले हाहुको भरमा बनेको सरकारले संविधान र राजनीतिक मर्यादा दुवै उल्लङ्घन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेका प्रतिगमनकारीहरू कमजोर छन्, कुनै ग्राउन्ड छैन, न परम्पराको टेको, न जनसमर्थनको आधार, आगो लगाएको, लुटेको, अराजकता मच्चाएको भरमा शासनमा पुगेका छन्’, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले एमाले देशका सबै प्रमुख आन्दोलनहरूमा अग्रभागमा रहेको स्मरण गर्दै अहिले पनि पार्टी निराश नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा छ, नेकपा एमाले निराश हुन जान्दैन, हतोत्साहित हुन जान्दैन, यसले समाज विज्ञानलाई बुझेको छ, समाज कसरी अघि बढ्छ भन्ने कुरालाई बुझेको छ, समाज कहिल्यै पछाडि फर्कँदैन ।’

अहिलेको राजनीतिक अस्थिरता र संवैधानिक सिमाना नाघ्ने प्रवृत्तिप्रति निक्कै खतरनाक भएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘संविधान मिचेर बनाइएका यस्ता सरकारहरूले लोकतान्त्रिक संस्थामाथि जनताको विश्वास कमजोर पार्दै छन्, विधानको अक्षर र भावना दुवै मिच्ने अभ्यास सह्य छैन ।’
संविधानको आत्मा तोडेर प्रधानमन्त्री बन्ने प्रचलनले देशलाई लोकतान्त्रिक बाटोबाट पछाडि धकेल्ने उहाँले बताउनुभयो । ओलीले यस्ता तत्त्वलाई देश सुम्पिएर आफू कतै नभाग्ने बताउनुभयो । ‘शुकरात त्यसबेला भागेनन्, आज यिनीहरूलाई देश सुम्पिएर केपी ओली भाग्छ ? यो असंवैधानिक, कसैप्रति पनि उत्तरदायी नभएको सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ? मर्न परे यही देशमा मर्छु, शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ? के सोचेको छ यिनीहरूले, तमासाको पनि हद हुन्छ नि !’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्