विराटनगर, कात्तिक २१ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सहकारी ठगीमा संलग्न जोसुकैलाई पनि कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।
प्रेस चौतारी मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समयमा सहकारी क्षेत्रमै देखा परेका विकृति र अनियमितताले साना लगानीकर्ताको पुँजी असुरक्षित बनाएको भन्दै त्यसलाई अन्त्य गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा सहकारीको रकम दुरुपयोग गर्ने कसैलाई पनि छाडिने छैन, उनीहरूलाई कानुनी कारबाही गरिन्छ, साना बचतकर्ताको पुँजी सुरक्षित गर्न राज्य जिम्मेवार बन्नुपर्छ ।’
नेता अधिकारीले अहिलेको राजनीतिक जटिलता समाधान गर्न संसद् पुनर्स्थापना नै मुख्य मार्ग रहेको धारणा पनि राख्नुभयो । उहाँको भनाइमा, संसद् पुनर्स्थापना गरेर छोटो अवधिमा संविधान संशोधनमार्फत देशको नयाँ राजनीतिक दिशा तय गर्न सकिनेछ । ‘संविधान संशोधन गरी बाहिरका योग्य व्यक्तिलाई पनि प्रधानमन्त्री बन्ने व्यवस्था गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसको आधारमा सबै राजनीतिक दलहरूले स्वीकार गर्ने व्यक्तिको नाममा सहमति गरेर नयाँ सरकार बनाउनु जरुरी छ ।’
उहाँले संविधान र लोकतन्त्रलाई पुनः स्थायित्वको बाटोमा ल्याउन संसद् पुनर्स्थापना अपरिहार्य भएको दाबी गर्नुभयो ।
संवाद कार्यक्रममा उहाँले अहिलेको अन्तरिम सरकार लामो समय टिक्ने सम्भावना कमजोर भएको टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्तै हो भने एक/ डेढ महिनामै यो सरकार ढल्छ, अहिले देख्नुभएको छ, उनीहरूकै मानिसहरूले मन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्न थालेका छन्, त्यसैले पनि यो सरकार लामो जान्छ जस्तो लाग्दैन ।’
पूर्वमुख्यमन्त्री अधिकारीले अहिलेको सरकारले तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा गरिएको चुनावजस्तै औपचारिक अभ्यास मात्रै गर्न सक्ने दाबी गर्नुभयो । उहाँको भनाइ थियो, ‘राजा ज्ञानेन्द्रले पनि सत्ता हातमा लिएर चुनावको नाटक गरेका थिए, त्यसको कुनै अर्थ भएन, अहिलेको सरकारले पनि त्यही बाटो लिएको देखिन्छ, यदि यो सरकार साँच्चिकै चुनाव गर्न चाहन्थ्यो भने प्रहरीको मनोबल बढाउने, लुटिएका हतियार फिर्ता गर्ने र शान्ति–सुव्यवस्था कायम गर्ने काममा लाग्थ्यो । तर सरकारले त्यस दिशामा कुनै प्रयास गरेको छैन, त्यसैले यो सरकारले चुनाव गराउन सक्दैन ।’













प्रतिक्रिया दिनुहोस्