काठमाडौं, कात्तिक २२। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टीलाई नयाँ उत्साह, विचार र कार्यशैलीसहित पुनर्गठन गर्न आह्वान गर्नुभएको छ ।
उहाँले मदन भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त र मूल्यमा आधारित सहकार्य, सहअस्तित्व र आत्मगौरवयुक्त एमाले निर्माण गर्न सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टी निर्माणबारे आफ्नो धारणा सार्वजनिक गर्दै सचिव भट्टराईले लेख्नुभएको छ– ‘हामी चाहन्छौँ, हामी बनाउँछौँ ।’
उहाँका अनुसार एमाले अब ‘सबैको सम्मान र आत्मगौरव युक्त, सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित, सभ्य, शिष्ट र सुसंस्कृत, क्रान्तिकारी विचार र जनमुखी कार्यशैली युक्त’ पार्टीका रूपमा उभिनु आवश्यक छ ।
उहाँले विविधता भित्रको एकतालाई पार्टीको मूल शक्तिको रूपमा व्याख्या गर्दै लेख्नु भएको छ, ‘एमाले विविधताबिचको एकतामा विश्वास गर्ने पार्टी हो, कमरेड मदन भण्डारीले स्थापित गर्नुभएको यिनै मान्यताका आधारमा आजका चुनौतीहरूको सामना गर्न हामी सबै एकताबद्ध हुनुपर्छ।’
भट्टराईले ‘बादे बादे जायते तत्त्व बोध’ भन्ने संस्कृत युक्ति उद्धृत गर्दै पार्टीभित्र विचार र बहसलाई सकारात्मक रूपमा लिनुपर्ने सन्देश दिनुभएको छ । उहाँको भनाइमा, पार्टीभित्रका फरक मत, बहस र विमर्श अन्ततः गहिरो बोध र सही दिशातर्फ लैजाने प्रक्रिया हुन् ।













प्रतिक्रिया दिनुहोस्