जनता टाइम्स

२२ कार्तिक २०८२, शनिबार १४:३०

आज देशभर एकैदिन एमालेको वडास्तरीय बैठक र जनभेला 


काठमाडौं, कात्तिक २२। नेकपा (एमाले)ले आज एकैसाथ देशभर वडास्तरीय बैठक तथा जनभेला आयोजना गरेको छ। पार्टीको पछिल्लो केन्द्रीय कमिटी र सचिवालय बैठकका निर्णयअनुसार सबै स्थानीय तहका वडामा एकैदिन बैठक तथा जनभेला सञ्चालन गरिएको एमालेले जनाएको छ।

देशका ७ सय ५३ स्थानीय तहअन्तर्गत रहेका ६ हजार ७ सयभन्दा बढी वडा कमिटीहरूले बैठक र जनभेला आयोजना गरिरहेका छन्। पार्टीभित्र उत्साहजनक जनसहभागितामा भेला र बैठक भइरहेका एमालेले जनाएकाे छ । पहिलो चरणमा वडास्तरीय बैठक र भेलामार्फत संगठन विस्तार र राजनीतिक स्पष्टताका लागि पार्टीले तलबाट अभियान सुरु गरेकाे हाे । देशको राजनीतिमा देखिएको प्रतिक्रान्तिको प्रवृत्ति, संविधानविपरीत भएको संसद विघटनको विरुद्ध कार्यकर्ता र जनतालाई सचेत गराउन तथा लोकतान्त्रिक मूल्यका पक्षमा जनमत निर्माण गर्न यो अभियान सुरु गरिएको एमालेले जनााएकाे छ ।

महाधिवेशनको तयारीमा जुटेको एमालेले वडास्तरीय भेलालाई पहिलो चरणको गतिविधि मानेको छ। दोस्रो चरणमा आगामी कात्तिक २६ गते पालिकास्तरीय भेला आयोजना गरिनेछ। त्यसपछि जिल्लास्तरीय जनसभा, काठमाडाैंमा सभा हुँदै मंसिर २६ गते काठमाडौंमा वृहत प्रदर्शन आयोजना गर्ने तयारी भएको पार्टीले जनाएको छ।

केन्द्रीय नेतृत्वको निर्देशनअनुसार यस अभियानमा केन्द्रीयदेखि वडा तहसम्मका नेता, जनप्रतिनिधि र कार्यकर्ता सक्रिय रूपमा खटिएका छन्।   पार्टीले देशभरका भेलाबाट प्राप्त जनमत, सुझाव र सन्देशलाई आगामी पालिकास्तरीय र केन्द्रीय भेलाका कार्ययोजनामा समेट्ने तयारी गरेको जनाएको छ।