मकवानपुर, मंसिर १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रदेश ३ को राजधानी र नामबारे मुख खोल्नुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीलाई पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले नाम र राजधानीबारे आफ्नो सुझाव दिनुभएको हो ।
अध्यक्ष प्रचण्डले स्थायी राजधानी हेटौडा र नाम बागमति राख्न सुझाउनु भएको स्रोतले बताएको छ । मुख्यमन्त्रीसहित प्रदेश सांसदहरुसँगको छलफलपछि अध्यक्ष प्रचण्डले आज आयोजित कार्यक्रममा केही दिनभित्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगिने बताउनु भयो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा हेटौंडामा कार्यकर्ता तथा सञ्चारकर्मीहरुसँग संक्षिप्त भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले प्रदेश संरचनाहरुको नामाकरण र स्थायी राजधानी टुंग्याउने विषय टुंग्याउने विषयमा प्रदेश सरकारलाई सहयोग गर्न आफू तयार रहेको बताउनु भएको हो । ‘कतिपय प्रदेशहरुले नामाकरण र स्थायी राजधानी टुंग्याइसकेका छन् । बाँकी रहेकाहरुको अब केही दिनभित्र टुंगिन्छ । म प्रदेश सरकार र सभालाई आवश्यक सहयोग गर्नेछु । अब यस विषयलाई दुविधामा राख्नुहुँदैन,’ प्रचण्डको भनाई थियो ।
दाहालले पार्टी र सरकारमा दुईवर्षदेखि देखिएको संक्रमणकाल सकिएको जानकारी पनि उहाँले दिनुभयो । ‘दुई वर्षदेखि पार्टी–सरकारमा देखिएको संक्रमणकाल टुंगिएको छ । पार्टीमा रहेका दुईजना अध्यक्षले कार्य्विभाजन गरेका छौं । धेरै कन्फ्युजहरु हटेका छन् । अब विकासको कामले तीब्रता पाउनेछन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संविधानअनुसार तोकिएको समयभित्र बनाउनुपर्ने ऐनहरु तयार भएका भएका छन् । अब संक्रमणकाल छैन । कर्मचारी समायोजनलगायतका विषयहरु टुंगिएका छन् ।’
उहाँले देशमा ७२ वर्षदेखि रहेको राजनीति अराजकता हटाउनका लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको प्रष्ट पार्दै अहिले पार्टीले प्राप्त गरेको जनमतलाई सदुपयोग गर्न जरुरी रहेको औंल्याउनु भयो । कार्यकर्ता तथा सञ्चारकर्मी भेटघाट अगाडि दाहालले मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामासँग प्रदेशको राजधानीको विषयलाई कसरी टुंग्याउने भन्ने विषयमा करिब ४५ मिनेट छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्