जनता टाइम्स

२२ कार्तिक २०८२, शनिबार १५:१०

भदौ २३–२४ को घटना योजनाबद्ध प्रतिक्रान्ति : लेखराज भट्ट


धनगढी, कात्तिक २२ । नेकपा (एमाले) का सचिव लेखराज भट्टले भदौ २३ र २४ का घटनाहरूलाई आन्दोलन नभई योजनाबद्ध प्रतिक्रान्ति भएको टिप्पणी गर्नुभएको छ।

प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टले ती घटना देश अस्थिर पार्ने र विनाशतर्फ धकेल्ने उद्देश्यले गरिएको पूर्वनियोजित षड्यन्त्रका हिस्सा भएको बताउनुभयो । ‘भदौ २३ र २४ का घटना कुनै क्रान्ति थिएनन्, ती विनाशका लागि बनाइएको डिजाइन थियो, देशलाई अस्थिर पार्ने, नेपाल जलाउने र अन्तर्राष्ट्रिय रूपमा बदनाम गराउने उद्देश्यले योजना बुनिएको देखियो’, उहाँले भन्नुभयो ।

भदौ २३ गतेको घटनालाई ढाल’ बनाएर भदौ २४ गतेकाे तोडफोड योजनाबद्ध रूपमा सञ्चालन गरिएको उहाँले बताउनुभयो। २४ गतेको विनाशकै लागि २३ को घटना गराइएको उहाँले दाबी गर्नुभयो ।

भट्टले जेनजी पुस्ताको नाममा हिंसा भड्काउने, स्कुल ड्रेसमा विद्यार्थीहरूलाई सडकमा उतार्ने र त्यसका पछाडि ठूला राजनीतिक स्वार्थ लुकेको आरोप लगाउनुभयो। जेनजी पुस्ताको माग सुशासन र भ्रष्टाचारविरुद्ध थियो, तर त्यसलाई गलत दिशामा मोडियो, विध्वंस र आगजनी आन्दोलन होइन, त्यो प्रतिक्रान्ति हो’, उहाँले भन्नुभयाे ।

भट्टले हालको सरकारले संविधान विपरीत काम गरिरहेको दाबी गर्दै संसद् पुनर्स्थापनाको आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार अहिलेको राजनीतिक वातावरणमा निर्वाचन सम्भव छैन र देशलाई कमजोर पार्ने राजनीतिक खेल भइरहेका छन्।

उहाँले एमालेलाई कमजारे बनाउन विभन्न षडयन्त्र भएका पनि बताउनुभयाे । ‘एमालेमाथि दशकौँदेखि प्रहार हुँदै आएको छ, कमजोर पार्न नसकेपछि हिंसा भड्काउने खेल भयो तर एमाले सचेत छ, देश सकाउने योजना सफल हुन दिइने छैन’, उहाँले भन्नुभयाे ।

कार्यक्रममा भट्टले एमाले अब ‘ग्रामीण विकास, सुशासन र समृद्धि’को एजेन्डा लिएर अघि बढ्ने बताउनुभयो। उहाँले आयात घटाई निर्यात बढाउने, युवा उद्यम र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिनुपर्नेमा प्रष्ट पार्नुभयाे ।

कार्यक्रम प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नरेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।