जनता टाइम्स

२२ कार्तिक २०८२, शनिबार २०:१५

मुलुकमा गुण्डाराजको खतरा बढ्यो, जेनजी आन्दोलन ‘हाइज्याकर’ सुधनले दिए गृहमन्त्रीलाई नै धम्की


काठमाडौं, कात्तिक २२। मुलुकमा गुण्डाराजको खतरा बढेर गएको छ । जेनजी आन्दोलनका हाइज्याकर भनेर चिनिएका फ्री तिब्बतका अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई नै धम्की दिएपछि यस्तो खतराको संकेत पाइएको हो ।

आफूलाई जेनजीको अगुवा बताउने सुधनले गृहमन्त्री अर्याल असक्षमता र गैरजवाफदेहि भएको आरोप लगाएर धम्की दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत गुरुङले  गृहमन्त्रीले जेनजी आन्दोलनको सम्मान गर्न नसकेको सुधनको भनाई छ ।  ‘हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ, यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो, यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर’, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ ।

आफूहरु कसैलाई मन्त्री बनाउन सडकमा नआएको गुरुङको भनाइ छ । ‘हामी सडकमा कसैलाई मन्त्री बनाउन आएका थियौ ? होइन, हामी स्कुले पोशाकमा मारिएका बालबालिकाको न्यायका लागि, भ्रष्टाचार र राज्य आतङ्कविरुद्ध, र सत्य तथा जवाफदेहिताको लागि आएका हौँ, हामीलाई भाषण होइन, काम चाहिएको हो, योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ’, गुरुङले लेख्नुभएको छ ।

गुरुङले वर्तमान गृहमन्त्रीको काम पुराना सरकारहरूसँग मिल्दोजुल्दो रहेमा चुप नबस्ने धम्की दिनुभएको छ । ‘यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तो भयो भने हामी चुप बस्दैनौँ,’ उहाँले लेख्नुभएको छ ।

उहाँले आफू सरकालाई सहयोग गर्ने तर प्रतिपक्षमा बस्ने भनेर आएको बताउनुभएको छ । ‘सरकारलाई सहयोग गर्छु तर प्रतिपक्षमा पनि बस्छु भन्ने मेरो हरेक शहीद परिवारप्रति बाचा हो र म आफ्नो जिम्मेवारी पूरा गर्दैछु किनभने हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो’, गुरुङले लेख्नुभएको छ ।

उहाँले चुनाव गराउने मात्र होइन आन्दोलनलाई वैधानिकता दिने कदम तत्काल अघि बढाउन अन्तरिम सरकारसँग माग गर्नु भएको छ । ‘यो आन्दोलन कसैलाई पद दिलाउनको लागि थिएन, यो रगत, आँसु र सपनाको लडाइँ हो,’ गुरुङको दावी छ ।

गुरुङले आफू गृहमन्त्री फाल्न र आफूले बनाएको प्रधानमन्त्री सुशीला कार्कीको पक्षमा ढाल बनेर उभिने पनि बताउनु भएको छ । ‘जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखून्, हामी प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर उभिएका छौँ’, गुरुङले भन्नुभएको छ ।

नेपालमा सरकार चलाउने दावी गर्ने गुरुङको नागरिकताकै बिषयमा प्रश्न उठेको छ । सो बिषयमा छानविन भए जेल पुग्ने त्रासले प्रधानमन्त्रीको आड लिएर गृहमन्त्री धम्क्याएको जानकारहरूको बुझाइ छ ।