काठमाडौं, कात्तिक २२ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले भदौ २३ र २४ को घटना नेपालको इतिहासकै आपराधिक घटना भएको बताउनुभएको छ ।
नेकपा (एमाले) दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित बृहत् युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले देशको सार्वभौमिकताको प्रतीक सिंहदरबार, सर्वोच्च अदालत, व्यवस्थापिका संसदमा आगो लगाउने काम नेपालीले गर्न नसक्ने बताउनुभयो । ‘नेपाली झण्डा ओढेर यदि कसैले सिंहदरबारमा आगो लगाउँछ भने कि त त्यसले लागुऔषध खाएको छ, कि त विदेशीको पैसा खाएको छ, नेपालीले सिंहदरबारमा आगो झोस्न सक्दैन’, ढुङ्गेलले भन्नुभयो ।
देशको सार्वभौमसत्ताको विषयलाई लिएर विदेशीसँग आँखा जुधाएर कुरा गर्न सक्ने केपी ओली र देशलाई समाप्त पार्ने उद्देश्यले भदौ २३ र २४ को घटना गराइएको उहाँले बताउनुभयो । माओवादी, राजावादी, जेलमा बसेका रवि लामिछानेका कार्यकर्ता, तिब्बतीय दलाई लामा र अमेरिकन पैसा खानेहरूले सो घटना गराएको उहाँको दाबी छ ।
भदौ २३ र २४ को हिंसा एमाले र कांग्रेस केन्द्रित भएको उहाँले बताउनुभयो । ‘घर जल्यो, इँटाको टुक्रा उछिट्टियो, छानो जल्यो तर एमालेको आस्था र विचार जलेको छैन, फेरि पनि एमालेको झण्डा बोकेर मानिसहरू उठेका छन्’, ढुङ्गेले भन्नुभयो ।
वर्तमान सरकार संवैधानिक नभएकोले एमालेले संसद् पुनर्स्थापनाको मुद्दा उठाएको उहाँले बताउनुभयो । ‘संसद् पुनर्स्थापना गरेर दुई दिन, भए पनि, सात दिन भए पनि, एक महिना भए पनि केपी ओलीलाई प्रधानमन्त्री बनाएर देखाउँछौँ’, उहाँले भन्नुभयो ।

एमाले चुनाव विरोधी नभएको बताउँदै ढुङ्गेलले तर सरका चुनाव गराउन सक्ने अवस्थामा नरहेको बताउनुभयो । ‘सरकार चुनाव भन्छ, सरकारलाई निर्देशन गर्ने केटो चुनाव हुन दिन्न, नेतालाई उठ्न दिन्न, घरबाट लस्छु भन्छ, राष्ट्रपतिलाई यसो भन्दिन्छु, सेना प्रमुखलाई यसो भन्छु भनेर धम्क्याउँछ, यो सरकार अराजकहरूका कठपुतली सरकार हो’, ढुङ्गेलले भन्नुभयो ।
केपी ओली नेतृत्वको सरकारलाई प्रहरी, सेना र राष्ट्रिय अनुसन्धानले सहयोग नगरेको उहाँले बताउनुभयो । ५० जना गएर सिंहदरबार जलाउँदा सेनाले नरोक्नुले सेना प्रति पनि प्रश्न उठेको ढुङ्गेलको भनाइ छ ।
ढुङ्गेलले भदौ २३ र २४ गतेको घटना आन्दोलन नभएको बताउनुभयो । प्रशासनिक भवन, अदालत, संसद् भवन, राजनीतिक दलका कार्यालय, व्यक्तिका घर जलाउने काम वितण्डा भएको ढुङ्गेलको भनाइ छ ।
आन्दोलनमा आगो बोक, लाठी, बन्दुक बोक भन्ने मान्छे जाँचबुझ आयोगको अध्यक्ष बनेकोले त्यसले निष्पक्ष छानबिन गर्न नसक्ने ढुङ्गेलले बताउनुभयो । ‘छानबिन गर्न सबैभन्दा पहिला त्यही आयोगको अध्यक्ष गौरीबहादुर कार्कीलाई पक्राउ गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
देश र जनताको सपना पुरा गर्ने दृष्टिकोण नेकपा एमालेसँग मात्रै भएको उहाँले बताउनुभयो । त्यसैले देश निर्माणको लागि फेरि पनि एमाले आउने उहाँले दाबी गर्नुभयो । एमाले आफैमा एउटा बलियाे तागत भएकाेले कसैले हल्लाउन नसङ्कने ढुंगेलकाे भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्