जनता टाइम्स

२२ कार्तिक २०८२, शनिबार २२:०८

हामी सामाजिक सञ्जाल बन्द गर्नुपर्छ भन्ने पक्षमा होइनौँ, त्यसलाई नियमन गर्नुपर्छ भन्ने पक्षमा छौँ : डा.राजन भट्टराई


काठमाडौं, कात्तिक २२ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इञ्चार्ज डा.राजन भट्टराईले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन हुनु पर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित बृहत् युवा भेलालाई सम्बोधन गर्दै भट्टराईले जेनजी आन्दोलनलाई अपराधीहरूले हाइज्याक गरेका बताउनुभयो । भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल निर्बाध सञ्चालनको विषयमा एमालेको कुनै विमति नरहेको बताउनुभयो । तर त्यो कानुनसम्मत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विरोधीले नेकपा एमालेको विरुद्ध प्रचार गरिहरेका बताउँदै उहाँले एमालेको कार्यकर्ता पङ्तिले त्यसलाई चिर्नुपर्ने बताउनुभयो । ‘हामी सामाजिक सञ्जाल बन्द गर्नुपर्छ भन्ने पक्षमा होइनौँ, त्यसलाई नियमन गर्नुपर्छ भन्ने पक्षमा हौँ’, उहाँले भन्नुभयो ।

एमाले सधैँ युवाको पक्षमा काम गर्ने पार्टी भएको बताउँदै उहाँले यस अघि भएका नीतिगत निर्णय प्रभावकारी हुन नसकेकाले अब व्यवहारिक रूपमा नै त्यसको कार्यान्वयनकाे योजना बनाइएको जानकारी दिनुभयो । एमालेले उठाएको राष्ट्वादको झण्डा माथि प्रहार गर्ने प्रयत्न भएको भन्दै उहाँले यस्तो अवस्थामा एमालेका नेता कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।