जनता टाइम्स

२३ कार्तिक २०८२, आईतवार ०९:०४

सरकारी सेवाप्रतिको रुची घट्यो, लोकसेवाको ४४ पदमा दरखास्त नै नपरेको तथ्य खुल्यो


काठमाडौं, कात्तिक २३ । लोकसेवा आयोगमा ४४ पदमा दरखास्त नपरेको तथ्य खुलेको छ। आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो ।

आयोगको सो प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा निजामती सेवा तर्फका १ हजार ५ सय १३ पदका लागि गरिएका विज्ञापनमध्ये आन्तरिक प्रतियोगिता तर्फका ३१ र समावेशी तर्फका सात गरी ३८ वटा विज्ञापनका ४४ पदमा कुनै पनि दरखास्त परेनन्।

यसरी दरखास्त नपर्नेमा राजपत्रअनकिंत द्वितीय श्रेणी (प्राविधिक) तर्फका अमिन, मेकानिक्सलगायत पद रहेका छन्। यसैगरी राजपत्रांकिततर्फ मुख्यगरी स्वास्थ्य सेवातर्फका नवौं तहको मेडिसिन समूहतर्फ नेफ्रोलोजी, न्युरोलोजी, कार्डियोलोजी, युरो सर्जरी, किडनी ट्रान्सप्लान्ट सर्जरी, निओनेटोलोजी, हेमाटोलोजी उपसमूहका पद रहेका छन।

आरक्षण कोटामा पुनरावलोकन हुन नसक्दा यस्तो स्थिति देखिएको आयोगका कर्मचारीले बताएका छन्। कानुनअनुसार हरेक १०-१० वर्षमा आरक्षण कोटामा पुनरावलोकन हुनुपर्नेमा २०६४ सालयत पुनरावलोकन गरिएको छैन।