दोलखा, कात्तिक २३ । नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व छाड्न भनेको कुरा नाटक मात्र भएको बताउनुभएको छ ।
आइतबार नेकपा एमाले दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले नेतृत्व छाड्ने भनेका प्रचण्डले पार्टी केन्द्रीय कमिटी भङ्ग गरी आफैँ संयोजक बनेर महाधिवेशन आयोजक कमिटी बनाउनुभएको बताउनुभयो । ‘माओवादीमा प्रचण्डले बिदा लिएको नाटक गरे, कमिटी विघटन गरिदिने, आयोजक कमिटी बनाउने, फेरी संयोजक आफैँ हुने, फेरी अरू दलहरूलाई लिएर अरू पार्टी पनि फुटाएर, विभाजित गरेर, सबै बामहरू एक हौँ भन्ने नामबाट जुन खेती गरिएको छ, यो जनतालाई भ्रममा पार्ने खेती हो र आफैँ हुने खेती हो’, उहाँले भन्नुभयो ।
अहिले अन्य पार्टीलाई भन्दा एमालेलाई प्रहार भइरहेको पनि गुरुङले बताउनुभयो । अहिले एमाले विरुद्ध बाह्य आक्रमण पनि भइरहेको बताउँदै उहाँले देशी-विदेशी सबै शक्तिले केपी ओली हटाऊ अभियान चलाइरहेको बताउनुभयो । प्रधानमन्त्री त हटायौँ, अब पार्टी अध्यक्षबाट पनि हटाऊ भन्ने अभियान उनीहरूले चलाएकाले त्यसको विरुद्ध पार्टी उभिनु पर्ने गुरुङको धारणा छ ।
एमाले केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले एक पटक पुन केपी ओलीलाई नै पार्टी अध्यक्ष बनाउन पर्ने धारणा राखेको पनि उहाँले स्मरण गराउनुभयो ।













प्रतिक्रिया दिनुहोस्