चितवन, मंसिर १०
चितवन राष्ट्रिय निकुन्जले प्रतिबन्धित जंगली जनावर चित्तल मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका–१३ का हेमबहादुर ढुङ्गाना रहेको निकुञ्जले जनाएको छ । चित्तल मारी परालको टौवामा लुकाई राखेको भन्ने सूचनाका आधारमा ढुङ्गानालाई पक्राउ गरिएको हो । ढुङ्गानालाई निकुञ्जको सुरक्षार्थ खटिएको टोलीले चित्तल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसहित पक्राउ गरेको हो ।
बटुकदल गणको टोलीले ढुङ्गानालाई नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको हो । प्रतिबन्धित जङ्गली जनावर मारेको अभियोगमा निकुञ्ज ऐन २०२९ को दफा २६ को उपदफा तीन अनुसार २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो । कुमरोज सामुदायिक वननजिकै घर भएका ढुङ्गानालाई समय थप गरी अनुसन्धान सुरू गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्