जनता टाइम्स

२३ कार्तिक २०८२, आईतवार १८:५५

युवा संघलाई अध्यक्ष ओलीको निर्देशन : स्वीकृति नदिए पनि सडकमा उत्रिनू


काठमाडौ, कात्तिक २३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि सडकमा उत्रन युवा संघलाई निर्देशन दिनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकमा उहाँले अनधिकृत व्यक्तिहरूले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा केही अनधिकृत व्यक्तिहरूले, सडकछापहरूले विघटन भनेर सिफारिस गर्ने र विघटन गर्ने अलोकतान्त्रिक क्रियाकलाप भएको छ, लोकतन्त्रको अपहरण भएको छ, संविधान खारेज भनिएको छैन तर मिचिएको छ ।”

उहाँले देश जलाउनेहरूले नै देश चलाउने तमासा गरेको बताउनुभयाे । ‘यो साधारण परिस्थिति होइन’, उहाँले भन्नुभयाे ।

‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै तमासा भइरहेको छ, जलाउनेका पछाडि पनि यिनै देखिएका थिए, चलाउनेमा पनि कुर्सीमा विराजमान तिनै देखिएका छन्, जुन संविधानले मिल्दैन’, उहाँले भन्नुभयो ।

उहाँले प्रशासनसँग आन्दोलनको अनुमति माग्दा नदिए सडकमा उत्रिन निर्देशन दिनुभयो । ‘स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन सडकमा उत्रिनुस्’, अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।