महोत्तरी, कात्तिक २४। मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लिएको छ । मधेस प्रदेशकी प्रमुख सुमित्रा भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराउनु भएको छ ।
सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाउनु भयो। यादव संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बन्नुभएको हो । शपथपछि मुख्यमन्त्री यादवले जनकपुरमा असहज अवस्था भएकोले सिन्धुलीमा गरिएको बताउनु भयो ।
‘मैले भर्खरै मुख्यमन्त्री पदमा शपथ लिएँ । जनकपुरमा अवस्था सहज थिएन । विरोध प्रदर्शन भइरहेको थियो । त्यही भएर सिन्धुलीमा शपथको कार्यक्रम राखिएको हो,’ यादवले भन्नुभयो ।

विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । सोनलले प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै काठमाडौँ जान जनकपुरबाट निस्केको आरोप लगाउनु भएको छ तर, बिचबाटोमा नै यादवलाई शपथ गराएको उहाँको आरोप छ ।
सोनलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मधेस प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्। एक त महिला अर्को स्वास्थ्यको कुरा गरिन्।’













प्रतिक्रिया दिनुहोस्