जनता टाइम्स

२४ कार्तिक २०८२, सोमबार १२:१३

मधेस प्रदेशका सांसदहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरे, राष्ट्रिय झण्डा उखेलेर फाले, कर्मचारी कुटिए


काठमाडौं, कात्तिक २४ । नेपाल समाज कति अराजक बन्दै छ भन्ने पछिल्लो उदाहरण सोमबार जनकपुरमा देखिएको छ ।

जनताबाट निर्वाचित मधेस प्रदेश भसा सांसदले नै मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै राष्ट्रिय झण्डा उखेलेर फालिदिएका छन् । राष्ट्रिय झण्डा उखेलेर भुईँमा फाल्दा समेत उनीहरूलाई हीनताबोध हुनुको सट्टा गौरवानुभूति भएको छ ।

आज सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्री नियुक्त गरेको विरोधमा सांसदहरूले मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका हुन् । जनताबाट निर्वाचित विधायकहरू नै यस्तो हरकतमा उत्रिएपछि त्यसले कस्तो सन्देश देला भन्ने चासो र चिन्ता बढेको छ ।

आज बिहानै मुख्यमन्त्री कार्यालय पुगेका सांसदहरूले मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गर्नुको साथै राष्ट्रिय झण्डा समेत निकालेर भुईँमा फालिदिएका छन् । तोडफोडमा उत्रिएका मध्ये नेपाली कांग्रेसका प्रदेश सांसद वीरेन्द्रकुमार सिंहले राष्ट्रिय झण्डा झिकेर भुईँमा फालिदिएका थिए ।

सांसदहरूले मधेसको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड, फूलका गमला लगायतमा तोडफोड गरेका छन् ।

सांसद र दलका नेता–कार्यकर्ताहरूले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो ।
तोडफोडबाट कार्यालयको सामान जोगाउन खोज्ने कर्मचारीलाई कुटपिट गरेपछि उनीहरू भागेका थिए ।