काठमाडौं, कात्तिक २४ । प्रतिनिधि सभा विघटनपछि नेकपा (एमाले)ले आफ्नो संसदीय दलको बैठक बोलाएको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, मुलुकमा विकसित असामान्य र जटिल राजनीतिक परिस्थितिबाट लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठक आगामी मंसिर २ गते बिहान पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने कार्यक्रम तय गरिएको छ।
संसदीय दलको बैठक बोलाउने कार्य सामान्यतया संसद् क्रियाशील अवस्थामै हुने गर्छ। तर प्रतिनिधि सभा विघटन भइसकेको परिस्थितिमा पनि एमालेले बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाउनुभएको हो। उहाँका अनुसार, बैठकमा हालको संवैधानिक जटिलता, संसद् पुनःस्थापनाको सम्भावना, आगामी निर्वाचनका तयारी तथा पार्टीको रणनीतिक दिशाबारे विस्तृत छलफल हुनेछ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएपछि मुलुक असामान्य राजनीतिक अवस्थामा पुगेको छ। नयाँ निर्वाचनको मिति घोषणा गरे पनि विपक्षी दलहरूले सो कदमलाई संवैधानिक व्यवस्थामाथिको आक्रमण भन्दै आलोचना गरिरहेका छन्। सुरक्षा व्यवस्था तथा सरकारको तयारीका हिसाबले पनि तोकिएको समय फागुन २१ गते चुनाव हुने सम्भावना क्षीण छ ।
त्यसै सन्दर्भमा एमालेले पनि विघटनको निर्णय र त्यसले उत्पन्न संवैधानिक बहसमा आफ्नो स्पष्ट धारणा तय गर्न संसदीय दललाई संलग्न गराउन खोजेको बुझिएको छ। प्रतिनिधि सभा विघटन संविधानसम्मत हो वा होइन भन्ने विषयमा कानुनी र राजनीतिक बहस एकसाथ चलिरहेको छ। सर्वोच्च अदालतमा समेत सो विषयमा रिट दर्ता भइसकेको छ।
बैठकले मुलुकको राजनीतिक अवस्थाबारे औपचारिक प्रस्ताव पारित गर्ने र पार्टीको संवैधानिक निकासबारे धारणा तय गर्ने तयारी गरेको बुझिएको छ। साथै, निर्वाचन तयारी, संगठन सुदृढीकरण र सम्भावित गठबन्धनका विषयमा पनि छलफल हुनेछ। संसदीय दलका नेता पूर्वप्रधानमन्त्री केपी ओलीकाे अध्यक्षतामा बैठक बस्ने छ ।













प्रतिक्रिया दिनुहोस्