काठमाडौं, कात्तिक २४ । नेकपा (एमाले)मा पुनः फर्कनुभएका एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले पार्टीबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठुलो गल्ती भएको आत्मस्वीकृति जनाउनुभएको छ।
उहाँले आज काठमाडौंमा आयोजित एमालेको ‘घर फर्क राष्ट्रि अभियान’ कार्यक्रममा सम्बोधन गर्दै विगतमा विभिन्न कारणले पार्टीमा विभाजनको बाटो रोज्नु गम्भीर भूल भएको बताउनुभयो। ‘हामीजस्ता पार्टीमा फर्कन आएका साथीहरूको जीवनको यो सबैभन्दा सत्य र आत्मावलोकनको क्षण हो,’ उहाँले भन्नुभयो, ‘विगतमा विभिन्न कारणले हामी पार्टीमा विग्रहमा लागेका थियौँ, त्यो हाम्रो जीवनकै ठुलो भूल भयो, यो समयले पनि देखाइदिएको छ।’
नेता श्रेष्ठले पुनः एमालेको मञ्चबाट जनताको विश्वास जित्नेगरी समर्पणपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘हामी फेरि जनताको भरोसा जित्नेछौँ, राष्ट्र निर्माणको अग्रपंक्तिमा रहनेछौँ,’ उहाँले भन्नुभयो, ‘यो फर्काइ केवल राजनीतिक निर्णय होइन, यो त जनताको बीच फर्कने यात्राको सुरुवात हो।’

उहाँले देशभर आफूजस्ता धेरै कार्यकर्ता र नेताहरू पुनः एमालेमा फर्कने विश्वास पनि व्यक्त गर्नुभयो। ‘आज केही सय साथीहरू मात्र यहाँ जोडिनुभएको छ, तर म विश्वास दिलाउन चाहन्छु, यो अभियानको सुरुवातसँगै देशभर किसान श्रेष्ठजस्ता बाटो बिराएका धेरै कमरेडहरू पुनः पार्टीमा फर्किनेछन्,’ नेता श्रेष्ठले भन्नुभयो।
श्रेष्ठले माधव नेपालकाे पछि लागेर आफूहरुले भुल गरेकाे बताउनुभयाे । ‘कलम पार्टी विसर्जन भयो,देशै भरिबाट एमालेमा फर्कौँ’, उहाँले भन्नुभयाे ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठसहित एकीकृत समाजवादीबाट फर्कनुभएका नेताहरूलाई पार्टीको झण्डा प्रदान गरी स्वागत गर्नुभएको थियो। राष्ट्रिय सभा गृहमा आयोजित सो कार्यक्रम ‘घर फर्क अभियान’को औपचारिक शुभारम्भका रूपमा मनाइएको थियो।













प्रतिक्रिया दिनुहोस्