जनता टाइम्स

२४ कार्तिक २०८२, सोमबार १८:२१

एमाले अध्यक्ष केपी ओलीको चेतावनी : सरकारका मन्त्रीहरूले धेरै जिब्रो नचलाउन् 


काठमाडौं, कात्तिक २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिक भन्दै मन्त्रीहरूलाई संयमित रहन आग्रह गर्नुभएको छ।

उहाँले सोमबार काठमाडौंमा आयोजित एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै वर्तमान सरकारले कानुन र संवैधानिक दायरा नबुझेर देशलाई सङ्कटतर्फ धकेलिरहेको टिप्पणी गर्नुभयो। ‘सरकारका मन्त्रीहरूलाई म धेरै जिब्रो नचलाउन आग्रह गर्छु,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘कुन संसारमा छ यो सरकार ? कानुन थाहा छ कि छैन ? कूटनीति थाहा छ कि छैन ? यस्ता हावा कुरा गरेर देश चल्दैन, अलिकति सम्हालिएर बोल्नुपर्छ।’

उहाँले सरकारको आयु अब लामो नभएको सङ्केत गर्दै भन्नुभयो, ‘जति उफ्रिए पनि फागुन २१ मा त सकिन्छ त, फुर्ती चाहिँ घाम-जुन रहुन्जेलसम्म जस्तो छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने र संविधानको मर्म विपरीत शासन सञ्चालन गरिरहेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘शक्ति छ भने चुनाव गरेर देखाउनु, यो सरकारले चुनाव गराउँदैन, यस्तो असंवैधानिक सरकारलाई एमालेले मान्यता दिन सक्दैन।’

उहाँले प्रतिनिधि सभा तत्काल पुनर्स्थापना गरेर देशलाई पुनः संवैधानिक बाटोतर्फ फर्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो। ‘संविधान बचाउन, लोकतन्त्र फर्काउन र विघटित प्रतिनिधि सभालाई पुनर्स्थापना गर्न विना द्विविधा लाग्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले सत्यको पक्षमा एमाले एक्लै उभिएको भए पनि जनमत क्रमशः त्यसैको पक्षमा बन्दै गएको दाबी गर्नुभयो। ‘अरूले सत्य बोल्न सकेनन् भनेर हामी एक्ला परेका होइनौँ, सत्यको पछाडि बिस्तारै जनमत बन्दै जान्छ,’ उहाँले स्पष्ट पार्नुभयो।

उहाँले देशका सबै राजनीतिक शक्तिलाई लोकतन्त्र र संविधानको रक्षा गर्न आह्वान गर्दै भन्नुभयो, ‘विकासका लागि लोकतन्त्र चाहिन्छ, लोकतन्त्रका लागि संविधान चाहिन्छ, र संविधानका लागि प्रतिनिधि सभा चाहिन्छ। देशमा लोकतन्त्र स्थापनाका लागि राजनीतिक दलहरूले आधारभूत सहमति बनाएर अगाडि बढ्नुपर्छ, प्रतिगमनको पछाडि लाग्ने गल्ती नगर्नुहोस्।’

कार्यक्रममा अध्यक्ष ओलीसँगै एमालेका शीर्ष नेताहरू, एकीकृत समाजवादीबाट फर्कनुभएका नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतको उपस्थिति थियो। राष्ट्रिय सभा गृह भरिपूर्ण श्रोता बिच उहाँको सम्बोधनमा निरन्तर ताली बजाइएको थियो।

ओलीले एमालेको छाती सानो छ भन्नेलाई एमालेको छाती कत्रो छ भनेर काठमाडौंमा हुने एमालेको महाधिवेशन हेर्न आउन आह्वान गर्नुभयो । ‘यिनीहरूले दुर्बिन लगाएर आकाश तिर हेर्छन्’, ओलीले भन्नुभयो ।