जनता टाइम्स

२५ कार्तिक २०८२, मंगलवार १३:१५

जेनजी विद्रोह अपहरण गरेर मन्त्री बनेका कूलमान घिसिङको जेनजीले नै गरे राजीनामा माग 


काठमाडौं, कात्तिक २५ । जेनजी विद्रोह अपहरण गरेर मन्त्री बन्नुभएका ऊर्जा मन्त्री कुलमान घिसिङको जेनजी समूहले नै राजीनामा माग गरेको छ ।

‘जेन–जी मुभमेन्ट’ले घिसिङलाई बर्खास्त गर्न माग गरेको हो । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैँया बराबर नोक्सान हुने गरी विद्युत् खरिदबिक्री सम्झौता गरेको भन्दै मुभमेन्टले बर्खास्तीको माग गरेको छ ।

मुभमेन्टका प्रवक्ता विजय साहले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रघाती विद्युत् सम्झौतामा संलग्न रहेकोले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरिएको छ । ‘ऊर्जामन्त्री कुलमान घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैँया बराबर नोक्सानी हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनता माथि खुलेआम प्रहार गरिएको छ, यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको छ, यो कार्य सिधा सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो’, विज्ञप्तिमा भनिएको छ ।

मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्ने माग गरेको छ । त्यस्तै प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्ने मुभमेन्टको माग छ ।

विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्ने पनि मुभमेन्टले माग गरेको छ । ‘राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

जेनजी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरू देशलाई लुट्न उद्धत रहेको कुरा पुष्टि भएको भन्दै मुभमेन्टले तत्काल मन्त्रीबाट बर्खास्त गर्दै कठोर कारबाही गर्न आग्रह गरेको छ । ‘होइन भने कठोर सङ्घर्ष गर्न नेपाली युवाहरू बाध्य हुनेछन्’, विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।