जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १७:४४

थपियो अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यकाल


काठमाडौं, बैशाख २६

सरकारले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीको कार्यकाल थप गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद बैठकले कार्कीको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

कार्यकाल सकिन लागेपछि नेपाल आउनु भएका राजदुत कार्कीले पदावधी थप नभए अमेरिका नफर्कने बताउँदै आउनु भएको थियो । मन्त्रिपरिषदले अमेरिकामा अर्को व्यक्ति राजदूत नियुक्त नहुँदासम्मका लागि राजदुत कार्कीको कार्यकाल थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

‘संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा अर्को व्यक्ति नियुक्त नभएसम्मका लागि वर्तमान राजदूत डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गरिएको छ ,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । कार्की पाँच वर्षअघि अमेरिकाका राजदूत नियुक्त हुनुभएको थियो । गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई मन्त्री सरहको सुविधा दिने निर्णय गरेको थियो ।

कार्यकाल सकिन लागेपछि राजदुत कार्की नेपालमै आउनु भएको थियो । कार्यकाल थपसँगै अव उहाँ अमेरिका जाने हुनुभएको छ ।