रामेछाप, कात्तिक २५ । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमा अस्थिरता मच्चाउन चाहने शक्तिले भदौ २३ र २४ को घटना गराएको बताउनुभएको छ ।
नेकपा एमाले रामेछाप सुनापति गाउँपालिका कमिटीले मङ्गलवार साँदीडाँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै चौलागाईँले नेपालमा स्थिरता हुन नदिने शक्तिले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता र स्थायित्व दिन लागेपछि त्यसलाई भाँड्न सो घटना गराएका बताउनुभयो । ‘केपी ओलीको विकास प्रतिको प्रतिबद्धता र राष्ट्रियता प्रतिको समर्पण नै भदौ २३–२४ को घटनाको कारण हो, बाह्य शक्तिले यहाँका राष्ट्रवादीलाई गरिरहेका छन्, प्रहारको निशाना अहिले केपी ओली र एमाले बनेको छ’, उहाँले भन्नुभयो ।
चौलागाईँले अमेरिकन एम्बेसीले नेपालमा बालेन साह, सुधन गुरुङ जस्ता पात्र जन्माएको बताउनुभयो । तिनै पात्रहरूलाई प्रयोग गरेर देश जलाउने काम गरिएको उहाँको भनाइ छ । नेपाल कसैले धम्क्याएर धम्किँदैन भनेर सिर उठाएर कुरा गर्ने नेता केपी ओली भएका कारण उहाँ माथि यो आक्रमण भएको चौलागाईँको भनाई छ । यत्तिको आँट नेपालका राजा महाराजाहरूले समेत कहिल्यै पनि नराखेको चौलागाईँको दाबी छ ।
नेपालको सेना, प्रहरीलाई समेत निष्क्रिय बनाएर भदौ २३ र २४ को घटना गराइएको उहाँले बताउनुभयो । जेनजीको सामान्य माग भित्र बरबरा फाउण्डेसन तथा तिब्बतियन ब्लडग्रुप समेत घुसेर आन्दोलन कब्जा गरेको उहाँले सुनाउनुभयो । ब्यारिकेट समेत नराखेर प्रहरीका उच्च अधिकारी समेत सो हिंसक जत्थासँग मिलेका उहाँले दाबी गर्नुभयो । ‘ अबोध बालबालिकाको काँधमा बन्दुक राखेर गोली पड्काइयो, बाह्य शक्तिको आडमा यो सबै षडयन्त्र भयो’, उहाँले भन्नुभयो ।
अहिलेको सबै घटनाक्रम जेनजीका कारण नभएको उहाँले दाबी गर्नुभयो । अहिले जो सरकारमा पुगे विदेशीको डिजाइन अनुसार उनीहरूकै योजनामा सो घटना भएको चौलागाईँको भनाइ छ ।
एमालेकै केही नेताहरू आफ्नो नेता केपी ओली मारियो कि ज्युँदै छ भन्ने कुरा समेत थाहा नभएको अवस्थामा विदेशीसँग मिलेर केपी ओलीले पार्टी अध्यक्ष छाड्नु पर्छ भन्दै हिँडेका चौलागाईँले बताउनुभयो । बाह्य षडयन्त्रबाट सो घटना भएको पर्दा खुल्दै गएपछि अहिले पार्टी बाहिरकाले समेत केपी ओली ठिक रहेछन् भनेर भन्न लागेका उहाँले सुनाउनुभयो । पार्टीको आउने महाधिवेशनबाट केपी ओली नै पार्टी अध्यक्ष हुने पनि उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्