भक्तपुर, कात्तिक २५ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्थानीय सरकार जनताले सहजै भेट्ने सरकार भएको बताउनुभएको छ ।
मंगलबार जनस्वास्थ्य कार्यालय भक्तपुरद्वारा आयोजित जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा बोल्दै थापाले नागरिक स्वास्थ्यको लागि स्थानीय सरकारले गर्ने काम सबैभन्दा प्रभावकारी हुने बताउनुभयो । त्यसैले केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्ने उहाँको धारणा छ । ‘जबसम्म स्थानीय सरकार नागरिकको स्वास्थ्य प्रति जिम्मेवार हुँदैन तबसम्म प्रदेश र केन्द्र सरकारले केही गर्न सक्दैन’, उहाँले भन्नुभयो ।
स्वास्थ्य क्षेत्रको विकासका लागि वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय लागि रहेको उहाँले बताउनुभयो । भक्तपुरमा सबै रोगको उपचार हुन्छ भन्ने सन्देश दिने गरी काम गर्न उहाँले भक्तपुर जिल्लाका अस्पतालहरूलाई आग्रह गर्नुभयो । भक्तपुर जिल्ला अस्पताल, सूर्यविनायक अस्पताल लगायतका भक्तपुरका अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने योजनाका साथ प्रदेश सरकारले सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी बनाउन समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । काम गर्दा कहाँ समस्या भयो त्यस बारेमा जानकारी भयो भने त्यसलाई फुकाउने काम प्रदेश सरकारले गर्ने उहाँले जानकारी दिनुभयो ।
अहिले नसर्ने रोगका बिरामीहरू बढ्दै गएका बताउँदै उहाँले त्यसको न्यूनीकरणको लागि सबै क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो । कृषि, पशु, खानेपानी, सडक, वातावरण, भौतिक पूर्वाधार सबै क्षेत्रसँग समन्वय र सहकार्य गरेर काम गर्दा मात्र स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकिने उहाँको धारणा छ । त्यसैले यस वर्ष वाग्मती स्वास्थ्य मन्त्रालयले सबै नीतिमा स्वास्थ्य नीतिको कार्यक्रम ल्याएको थापाले स्मरण गराउनुभयो ।

थापाले योग, ध्यान प्रणयामबाट धेरै रोग लाग्न नदिने र लागेका रोग पनि हटाउने भएकोले अब योग, ध्यान, प्रणयामलाई संस्थागत कार्यक्रमका रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो । त्यसैले वाग्मती प्रदेश सरकारले यस वर्ष त्यस्ता कार्यक्रम समावेश गरेको थापाले बताउनुभयो ।
आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाली रहँदा आफू सधैँको लागि त्यहाँ पुगेको होइन भन्ने कुरा राम्रोसँग ख्याल गरेको थापाले बताउनुभयो । त्यसैले आफू नेतृत्वमा रहेको बेला स्वास्थ्य क्षेत्र सुधारको लागि सकेसम्म धेरै काम गर्ने थापाले प्रतिबद्धता जनाउनुभयो । प्रदेश स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने कामको बारेमा आवश्यक सल्लाह र सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्