काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले घर फर्कने कुनै पनि नेता कार्यकर्ता खाली बस्न नपर्ने जानकारी दिनुभएको छ । विभिन्न कारणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनुनपर्ने जानकारी महासचिव पोखरेलले गराउनु भएको हो ।
पूर्वमन्त्री रामकुमारी झाँक्री, किसान श्रेष्ठ, पिताम्बर तिम्सिना, गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङताङसहितका ‘पाटी फर्क अभियान’ मार्फत पुनः जोडिएका नेताहरूसँगको छलफलमा पोखरेलले त्यस्तो आश्वासन दिनुभयो ।
छलफलमा सहभागी विघठित प्रतिनिधिसभा सदस्य एवं पार्टी नेता किसान श्रेष्ठका अनुसार महासचिव पोखरेलले देशभरिबाट पार्टी फर्किहरूको सूची एक साताभित्र पेश गर्न भन्नुभएको छ । पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्योभन्दा तलको व्यवहार नहुने महासचिव पोखरेलको आश्वासन छ ।
पूर्वहैसियतभन्दा माथिको जिम्मेवारी दिने पार्टीको अधिकतम प्रयास रहने जानकारी पनि उहाँले दिनुभएको छ । तर, कसलाई कहाँ र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर टुंगो लगाइने छ । ‘आउनुभएका सबै साथीहरूको नाम हेरौँ, त्यसपछि कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे त्यसपछि छलफल गरौँ’, महासचिव पोखरेलले भन्नुभयो ।
पार्टीको आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधि हुनेदेखि उक्त महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिहरूमा जिम्मेवारी दिने विषय पनि एक हप्ताभित्र टुंगो लगाउने सहमति भएको श्रेष्ठले जानकारी दिनुभयो । ‘हामी केन्द्रीय कमिटी तहका मान्छेहरूलाई अहिले नेतामात्रै भन्ने, जिम्मेवारीचाहिँ एक हप्तापछि टुंगो लगाउने भन्नुभयो’, श्रेष्ठले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्