जनता टाइम्स

२७ कार्तिक २०८२, बिहीबार १०:११

एमालेको रोडम्याप : संसद पुन:स्थापना-संविधान संशोधन-सर्वदलीय सरकार र अर्ली इलेक्सन


दाङ, कात्तिक २७ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन (पूर्वनिर्धारित आमनिर्वाचन) एमालेको स्पष्ट रोडम्याप भएको बताउनुभएकाे छ ।

प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले हालको राजनीतिक गतिरोधको समाधानका लागि एमालेले प्रस्तुत गरेको यही चार बुँदे प्रस्ताव देशलाई स्थायित्वतर्फ लैजाने ठोस बाटो भएको बताउनुभयो । ‘संसद पुनर्स्थापना, संविधान संशोधन, जेन-जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो,’ उहाँले भन्नुभयो, ‘यथास्थितिमा चुनाव भयो भने त्यसको कुनै औचित्य हुँदैन ।’

उहाँका अनुसार वर्तमान परिस्थितिमा हुने चुनावले ‘शाहीकालमा रहेको स्थानीय सरकारजस्तै औपचारिक संरचना मात्र दोहोर्याउने’ जोखिम छ । ज्ञवालीले सरकारले चुनाव गराउने भनिए पनि त्यसका लागि आवश्यक वातावरण बनाउन तयार नभएको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्रीले दलका नेताको अनुहार हेर्नु छैन भन्ने अभिव्यक्ति दिनु नै उहाँको चुनाव बनाउन नचाहने मनस्थितिको प्रमाण हो,’ उहाँको भनाइ थियो ।

उहाँले हालको राजनीतिक व्यवस्थालाई संविधानले स्वीकार नगरेको सरकारद्वारा सञ्चालन गरिएको दाबी गर्दै संविधान अहिले ‘घाइते अवस्थामा’ पुगेको बताउनुभयो । ‘अहिले संविधान घाइते अवस्थामा छ,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ, संविधानले अस्वीकार गरेका मन्त्रीहरू छन् ।’

ज्ञवालीले राजनीतिक स्थायित्व, लोकतान्त्रिक शुद्धता र संवैधानिक व्यवस्थाको पुनर्स्थापनाका लागि एमालेले अघि सारेको रोडम्याप कार्यान्वयन गर्न सबै राजनीतिक शक्तिहरू एकताबद्ध हुनुपर्ने पनि बताउनुभयो ।