काठमाडौं, कात्तिक २७ । नेपाल प्रहरीको कमाण्ड आजदेखि दानबहादुर कार्कीले सम्हाल्नुभएको छ ।
प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि कार्कीले नेपाल प्रहरीको सर्वोच्च पद सम्हाल्न लाग्नुभएको हो ।
कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको नयाँ आईजीपीमा नियुक्त गरेको थियो । नियुक्तिपछि उहाँ आज प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर औपचारिक रुपमा जिम्मेवारी ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा दर्ज्यानी चिह्न (इन्सिग्निया) लगाइसकेपछि उहाँले जिम्मेवारी ग्रहण गर्नुभएको हो ।
कार्कीले हालै २४ भदौमा जेन–जी आन्दोलनका बेला काठमाडौं उपत्यकाको कमाण्ड सम्हाल्नुभएको थियो । त्यसअघि २३ भदौमा उपत्यका कमाण्ड एआईजीविहीन रहँदा उहाँलाई जिम्मेवारी दिइएको थियो । उपत्यकाको कमाण्ड सम्हाल्नु अघि उहाँ प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागका प्रमुख हुनुहुन्थ्यो ।
डीआईजीका रूपमा रहँदा कार्कीले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाल्नुभएको थियो । त्यसअघि एसएसपी पदमा रहँदा उहाँले काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गर्नुभएको थियो, जस क्रममा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दा सञ्चालन भइरहेको थियो ।

काठमाडौँ जिल्ला प्रहरी परिसरदेखि उपत्यका प्रहरी कार्यालयसम्मका चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्दै आएका कार्की ‘इमान्दार र अनुशासित प्रहरी अधिकारी’का रूपमा परिचित मानिन्छन् ।
उहाँ कुनै ठूलो आर्थिक विवादमा नजोडिएका प्रहरी अधिकृतका रूपमा चिनिनुहुन्छ । फील्ड स्तरदेखि आईजीपी सचिवालयसम्मको प्रशासनिक र संयोजनात्मक अनुभव उहाँसँग रहेको छ ।
विदेशका विभिन्न मुलुकमा तालिम प्राप्त गर्नुभएका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत वहन गरिसक्नुभएको छ ।
पदभार ग्रहण गर्दै उहाँले देशर र जनता प्रति सदा समर्पित रहेन बताउनुभयाे । असााधरण अवस्थमा आफ्नाे काँधमा जिम्मेवारी आएकाे बताउँदै उहाँले त्यसलाई पुरा गर्न निरन्तर समर्पित रहेने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्